अमेरिकी हस्तक्षेपको जोखिममा ग्रीनल्याण्ड : युरोपेली संघ सुरक्षा गर्न तयार

स्वीडेन, सालेन : अमेरिकाले ग्रीनल्याण्ड कब्जा गरेमा नाटोको अस्तित्वमै संकट आउने चेतावनी दिंदै युरोपेली संघले डेनमार्कको अनुरोधमा त्यस अर्कटिक क्षेत्रको सुरक्षामा सहयोग गर्न तयार रहेको जनाएको छ। युरोपेली आयोगका रक्षा तथा अन्तरिक्ष आयुक्त एन्ड्रियस कुबिलियसले सोमबार आफ्नो यस्तो राय व्यक्त गरे।
स्वीडेनको सालेनमा आयोजना सुरक्षा सम्मेलनको किनारमा पत्रकारसँग कुराकानी गर्दै कुबिलियसले डेनिश प्रधानमन्त्री मेट फ्रेडरिक्सनको मतको समर्थन गर्दै यस्तो जबरजस्तीको कदमले नाटोमा घातक प्रहार हुने र ट्रान्साटलान्टिक सम्बन्ध गम्भीर क्षति पुग्ने बताए। उनले यस्तो कारबाहीले युरोपेलीहरूमा पनि प्रबल नकारात्मक प्रतिक्रिया जन्माउने पनि जोड दिए।
कुबिलियसले अमेरिकी आक्रमण नजिकिएको विश्वास नगरे पनि युरोपेली संघ सन्धिको धारा ४२.७ ले सदस्य राष्ट्रले एकअर्कालाई सैन्य आक्रमणको स्थितिमा सहयोग गर्नु पर्ने बाध्यता रहेको उल्लेख गरे। उनले डेनमार्कको अनुरोधमा नौसेनाको उपस्थिति र ड्रोन प्रतिरोध क्षमता जस्ता सैन्य ढाँचा विस्तार गर्ने गरी सैन्य टुकडी तैनाथ गर्न सकिने बताए।
डेनमार्क र अमेरिका बीच यस हप्ता ग्रीनल्याण्ड मुद्दामा छलफल हुने तयारी छ। ग्रीनल्याण्ड र डेनमार्कले बारम्बार त्यस क्षेत्र बिक्रीको लागि उपलब्ध नभएको स्पष्ट गरेका छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बलप्रयोग बाहेक नराखेर वासिङ्टनले ग्रीनल्याण्ड “स्वामित्व” मा लिनुपर्ने दाबी गरिरहेका छन्।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले नाटोभित्रका युरोपेलीहरू गठबन्धन सबल पार्ने उपायहरू छलफल गरिरहेको बताउँदै यस्तो काम नाटोले कार्य नगर्ने धारणामा आधारित नहुनुपर्ने जोड दिए। सालेनमा रविवार आयोजित सुरक्षा नीति सम्मेलनमा उनले भेनेजुएलामा अमेरिकी कारबाही र डेनमार्क तथा ग्रीनल्याण्ड प्रति ट्रम्पको “अपमानजनक भाषा”लाई आलोचना गर्दै यस्तो कदमले अन्तर्राष्ट्रिय कानूनलाई कमजोर पारेको र सानो देशहरूको लागि जोखिम बढाएको बताए।
क्रिस्टरसनले वासिङ्टनले डेनमार्कप्रति कृतज्ञता देखाउनुपर्ने र स्वीडेनले डेनमार्कलाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
जनवरी २०२५ मा पदसम्भाद गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड नियन्त्रणमा लिने चासो बारम्बार व्यक्त गर्दै त्यस लक्ष्य प्राप्तिका लागि “सैन्य वा आर्थिक दबाब” को प्रयोग बाहेक नराख्ने बताएका छन्। गत महिना उनले लुइजियाना गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रीनल्याण्डका लागि अमेरिकी विशेष दूत नियुक्त गरेपछि वासिङ्टन र डेनिश राज्य बीच तनाव पुनः तिब्र भएको छ।
१९४६ देखि सुरु भएको सालेन सुरक्षा सम्मेलन स्वीडेनको नागरिक सुरक्षा संस्था फोक ओक फोर्सभारद्वारा आयोजित हुने गर्दछ। राजधानी स्टकहोल्मबाट ४०० किलोमिटर पश्चिमोत्तरमा अवस्थित सालेन पहाडी शहर हो।





