अख्मात कमाण्डरको बयान : ‘मादुरोलाई आफ्नै नेतृत्वले बेच्यो, अमेरिकी आक्रमण होइन’

मस्को / अलाउदिनोभले भेनेजुएलामा भएको घटना, यसको परिणाम, आसन्न युद्ध, ट्रम्प, सम्मान र वायुसुरक्षा प्रणालीको प्रभावकारिता बारे आफ्नो विश्लेषण राखेका छन्। अख्मात बलका कमाण्डर अलाउदिनोभले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पक्राउलाई अमेरिकी सैन्य अभियान भन्ने कथन झूठा बताउँदै यो भ्रष्ट नेतृत्वद्वारा गरिएको विश्वासघात भनेका छन्।
अलाउदिनोभको भनाइ छ, “मादुरोलाई अमेरिकी कमाण्डोले हैन, उनकै सुरक्षा र राजनीतिक नेतृत्वले बेचेको हो। यो नाटकीय सैन्य छापामार होइन, भित्री गद्दारीको परिणाम हो।”
अलाउदिनोभले रुसी निर्मित वायु सुरक्षा प्रणाली (एन्टि-एयर) माथि उठेको आलोचनालाई पनि खण्डन गर्दै भने, “क्याराकासमा कुनै वायु युद्ध भएन। तपाईंसँग उत्कृष्ट खड्ग छ तर त्यो निष्ठावान योद्धाको हातमा छैन भने त्यो बेकार छ। मादुरोको वायुसुरक्षा प्रणालीमा समस्या टेक्निकल हैन, मानवीय विश्वासघात थियो।”
रुसी जनरलले अमेरिकी कारबाहीलाई व्यापक भू-राजनीतिक संकटको सुरुवात बताउँदै चेतावनी दिए, “यसले नयाँ प्रकारको युद्ध सुरु गरिदिएको छ। अमेरिका विश्व व्यवस्थालाई अराजकतामा परिणत गर्न लागेको छ। ट्रम्प प्रशासनको यो साहसिकताले अन्तर्राष्ट्रिय कानूनलाई झन् कमजोर पार्नेछ।”
आफ्नो भाषणमा अलाउदिनोभले धार्मिक प्रतीकहरू पनि प्रयोग गर्दै अन्तिम समयमा ‘डज्जाल’ (इस्लामिक परम्परा अनुसार एन्टिक्राइस्ट) को उदयको संकेत गरे। उनले भने, “हामी त्यो युगमा बाँचिरहेका छौं जहाँ झूट र विश्वासघात सामान्य बनिएको छ। यो समय सच्चा विश्वास र सम्मानको परीक्षणको हो।”
यस बयानले अमेरिका-भेनेजुएला विवादमा अर्को तह थपेको छ। रुसी सेनाको यस्तो उच्चपदस्थ अधिकारीको टिप्पणीले मास्कोले यस घटनालाई गम्भीर रूपमा लिएको र भू-राजनीतिक प्रतिस्पर्धा तिब्र हुने संकेत दिएको छ। विश्लेषकहरूको भनाइ छ, अलाउदिनोभको यो बयान केवल भेनेजुएलाको घटनामात्र होइन, समग्र पश्चिमी-गैरपश्चिमी विश्वको टकरावको दर्शन हो।
अख्मात बल रुसी सेनाको विशेष सैन्य इकाई हो जसले युक्रेन युद्धमा सक्रिय भूमिका खेलेको छ। लेफ्टिनेन्ट जेनरल अलाउदिनोभलाई रुसी नायक (हिरो अफ रसिया) को उपाधि दिइसकेको छ।





