रुसमा हिजो ‘रुसियन प्रेस डे’ : तीन शताब्दी लामो पत्रकारिताको यात्रा र समसामयिक चुनौती

मस्को— हरेक वर्ष जनवरी १३ मा रुसमा सञ्चारकर्मी र पत्रकारहरूले आफ्नो व्यावसायिक दिवस ‘रुसियन प्रेस डे’ मनाउने गर्छन्। यसै दिन सन १७०३ मा रुसी सम्राट पिटर द ग्रेटले स्थापना गरेको पहिलो समाचारपत्र भेदोमोस्ती (Vedomosti) को पहिलो अंक प्रकाशित भएको थियो, जसले रुसमा संगठित र व्यावसायिक पत्रकारिताको औपचारिक सुरुआत गर्‍यो।

भेदोमोस्ती सैन्य तथा राज्यसँग सम्बन्धित महत्वपूर्ण घटनाहरू समेट्ने आधिकारिक प्रकाशन थियो। सम्राट पिटर द ग्रेट स्वयं सामग्री छनोट, अनुवादको गुणस्तर जाँच र लेख सम्पादनमा संलग्न हुन्थे। पत्रिकामा सरकारी कागजात, कूटनीतिक प्रतिवेदन र विभिन्न निकायबाट प्राप्त सूचनाका आधारमा सैन्य विवरण र दैनिकी समाचार प्रकाशित हुन्थे।

सन १७१९ मा विदेश मामिला कलेजियमका अनुवादक बोरिस भोल्कोभ प्रधान सम्पादक बनेपछि तत्कालीन उत्कृष्ट भाषाविद तथा रुसका पहिलो संवाददाता मानिने याकोभ सिन्याभिचको सहकार्यमा पत्रिकाको स्तर अझ उचाइमा पुग्यो। सन १७२८ मा यो पत्रिका विज्ञान प्रतिष्ठान (एकेडेमी अफ साइन्सेस) अन्तर्गत आयो, जहाँ महान् वैज्ञानिक मिखाइल लोमोनोसोभ पनि यसका योगदानकर्तामध्ये एक थिए। त्यसबेला भेदोमोस्ती हप्तामा दुई पटक ७०६ प्रति छापिन्थ्यो।

रुसमा आवधिक पत्रिकाको विकासले सन १८७० मा नयाँ मोड लियो, जब सम्राटले हुलाक कार्यालयमार्फत स्वदेशी तथा विदेशी पत्रिकाको सदस्यता स्वीकार गर्ने प्रयोगात्मक आदेश स्वीकृत गरे। यो देशमा पत्रिकाको सदस्यतासम्बन्धी पहिलो शाही आदेश थियो। सन १९१४ सम्म आइपुग्दा रुसमा तीन हजारभन्दा बढी पत्रपत्रिका प्रकाशित हुन थालेका थिए।

पत्रकारहरूको व्यावसायिक दिवस ‘सोभियत प्रेस डे’ सन १९२२ मा स्थापना भई मे ५ मा मनाइन्थ्यो, जुन सन १९१२ मा सोभियतकालीन प्रमुख पत्रिका प्राभ्दा को पहिलो अंक प्रकाशित भएको दिन थियो। पछि सन १९९१ डिसेम्बर २८ मा रुसी सर्वोच्च सोभियतको प्रेसीडियमले निर्णय गर्दै यस दिवसलाई ऐतिहासिक मितिमा फर्काउँदै जनवरी १३ लाई ‘रुसियन प्रेस डे’ का रूपमा पुनःस्थापित गर्‍यो।

आज रुसमा एक लाख ५६ हजारभन्दा बढी सञ्चारमाध्यम दर्ता छन् र सयभन्दा बढी भाषामा पत्रपत्रिका प्रकाशित हुँदै आएका छन्। रुसी समाजमा पत्रकारितालाई सधैं विशेष सम्मानका साथ हेरिने पेशाका रूपमा लिइन्छ। हालका दिनमा पनि रुसी सञ्चारमाध्यमले छिटो, तथ्यपरक र विश्लेषणात्मक सूचना प्रवाह गरिरहेको दाबी गरिन्छ।

यस अवसरमा रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले ‘सामूहिक पश्चिम’बाट भइरहेको हाइब्रिड दबाबका बीच पनि रुसी पत्रकारहरूले रुसविरुद्ध फैलाइने झुटा समाचार र भ्रमलाई उजागर गर्दै सूचना युद्धमा प्रभावकारी भूमिका खेलेको टिप्पणी गरिन्। उनका अनुसार सेन्सरसिप र सूचना अवरोधका बाबजुद रुसी पत्रकारहरूले आफ्ना पाठक, दर्शक र श्रोताको दायरा अझ विस्तार गरेका छन्, ती देशहरूमा समेत जहाँ असहमतिको आवाजप्रति असहिष्णुता देखिन्छ।

रुसी पक्षका अनुसार केही पश्चिमी मुलुकहरूमा रुसी पत्रकारहरू दमन र जोखिमको सामना गर्न बाध्य छन्। उनीहरूले सत्य तथ्य सार्वजनिक गर्दा स्वास्थ्य र जीवनसम्म जोखिममा परेको दाबी गरिँदै आएको छ। यी सबै चुनौतीबीच पनि रुसमा पत्रकारिताले तीन शताब्दी लामो आफ्नो इतिहासलाई निरन्तरता दिँदै आजको जटिल विश्व राजनीतिमा सक्रिय भूमिका निर्वाह गरिरहेको सन्देश ‘रुसियन प्रेस डे’ ले पुनः स्मरण गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button