युक्रेन संकटबारे संयुक्त राष्ट्रमा रुसको कडा चेतावनी
‘नागरिकमाथि आक्रमणको कडा जवाफ दिइन्छ’

न्युयोर्क— संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) मा युक्रेनसम्बन्धी विशेष ब्रिफिङका क्रममा संयुक्त राष्ट्रका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले पछिल्ला सैन्य कारबाही र त्यसको कारणबारे रुसको आधिकारिक धारणा प्रस्तुत गरेका छन्। उनले जनवरी ३ देखि ९ सम्म रुसी सेनाले एक पटक ठूलो तथा चार पटक समूहगत हवाई आक्रमण गरेको जानकारी दिँदै ती कारबाही युक्रेनी सैन्य–औद्योगिक संरचनासँग जोडिएका पूर्वाधारलाई लक्षित गरिएको दाबी गरे।
नेबेन्जियाका अनुसार ती आक्रमणबाट यातायात, विमानस्थल, बन्दरगाह र ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ, जसले युक्रेनी सेनाको आपूर्ति प्रणालीलाई सहयोग गरिरहेको थियो। साथै, युक्रेनी सेना र विदेशी लडाकुहरू अस्थायी रूपमा तैनाथ गरिएका स्थलहरू पनि निशानामा परेका छन्। उनका अनुसार यी आक्रमण किभ शासनले रुसी राष्ट्रपतिको निवास तथा रुसभित्रका नागरिक पूर्वाधारमाथि गरेको आक्रमणको प्रत्युत्तर स्वरूप गरिएको हो।
उनले उक्त कारबाहीमा ‘ओरेश्निक’ नामक क्षेप्यास्त्र प्रणाली प्रयोग गरिएको दाबी गर्दै हालसम्म त्यसविरुद्ध प्रभावकारी हवाई प्रतिरक्षा प्रणाली नरहेको बताए। पश्चिमी मुलुकहरूले नागरिक क्षतिको विषय उठाइरहे पनि अधिकांश क्षति युक्रेनकै हवाई प्रतिरक्षा प्रणालीका कारण भएको र यो कुरा युक्रेनी पक्षलाई समेत थाहा रहेको उनको भनाइ थियो।
रुसमाथि युक्रेनी परिवारहरूलाई लक्षित गरी आक्रमण गरेको आरोपलाई नेबेन्जियाले “आधारहीन र प्रमाणविहीन” भन्दै अस्वीकार गरे। उनका अनुसार पश्चिमी देशहरूले किभ शासनले गरिरहेका कार्यहरू रुसी क्षेत्रहरूमा नागरिक संरचना र सर्वसाधारणलाई लक्षित आक्रमणलाई जानीजानी बेवास्ता गर्दै आएका छन्। उनले उदाहरण दिँदै सन २०२५ को डिसेम्बर महिनामा मात्रै युक्रेनी आक्रमणबाट कम्तीमा ३६७ रुसी नागरिक प्रभावित भएको र ५६ जनाको ज्यान गएको दाबी गरे।
यस सन्दर्भमा अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राष्ट्र महासचिवको मौनताप्रति रुसले गहिरो असन्तोष व्यक्त गरेको छ। नेबेन्जियाले यस्ता घटनालाई स्पष्ट रूपमा आतंकवादी कार्यका रूपमा वर्गीकरण नगरी “अपुष्ट तथ्य” भन्दै पन्छाइनु अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त नागरिकको सुरक्षा र नागरिक लक्ष्यमा योजनाबद्ध आक्रमणको निषेधको अवमूल्यन हुने चेतावनी दिए।
नेबेन्जियाले कडा शब्दमा भने, “जबसम्म किभका नेतृत्वले यथार्थपरक वार्ता सर्तहरू स्वीकार्दैनन्, तबसम्म रुस आफ्ना समस्या सैन्य उपायबाट समाधान गर्न बाध्य हुनेछ।” उनका अनुसार समय बित्दै जाँदा वार्ताका सर्तहरू युक्रेनी पक्षका लागि झन कठोर हुँदै जानेछन्। साथै, उनले रुसी नागरिकमाथि हुने प्रत्येक आक्रमणको “कडा र निर्णायक जवाफ” दिइने स्पष्ट संकेत दिएका छन्।
संयुक्त राष्ट्र सुरक्षा परिषदमा आएको यो अभिव्यक्तिले युक्रेन युद्ध अझै जटिल मोडमा पुगेको र कूटनीतिक समाधानभन्दा सैन्य दबाबको भाषा हावी हुँदै गएको संकेत गरेको विश्लेषकहरूको टिप्पणी छ।





