अमेरिकामा सोभियत–अमेरिकी संयुक्त युद्धसहयोगको स्मरण : ‘जिब्रा परियोजना’का वीर पाइलटप्रति श्रद्धाञ्जली

वाशिङ्टन— दोस्रो विश्वयुद्धका क्रममा नाजीवादविरुद्ध काँधमा काँध मिलाएर लडेका सोभियत र अमेरिकी सेनाबीचको ऐतिहासिक सहकार्यको स्मृतिमा अमेरिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ। अमेरिकास्थित रुसी दूतावासको आयोजनामा जनवरी ११, २०२६ मा नर्थ क्यारोलिनाको एलिजाबेथ सिटीस्थित पास्क्वोटाङ्क नदी किनारमा परम्परागत स्मृति समारोह सम्पन्न भयो।

सन १९४५ को सुरुआतमा लेन्ड–लिज कार्यक्रमअन्तर्गत रेड आर्मी वायुसेनाका लागि हस्तान्तरण गरिँदै गरेको PBN-1 ‘नोमाड’ उड्ने डुंगा (सी–प्लेन) दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका सोभियत र क्यानाडेली पाइलटहरूको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको हो। यो विमान ‘क्याटालिना’ वर्गअन्तर्गत सोभियत–जर्मन मोर्चाका लागि आपूर्ति गरिँदै थियो।
रुसी दूतावासको नेतृत्वमा आयोजित कार्यक्रममा उच्चपदस्थ कूटनीतिज्ञ र सैन्य सहचारी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। विशेष कुरा के थियो भने सन २०२० यताकै पहिलोपटक अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित भए। उनीहरूको प्रतिनिधित्व संयुक्त POW/MIA आयोगका अध्यक्ष जनरल रोबर्ट फोगलसङ र उनका सहकर्मीहरूले गरेका थिए।

दुर्घटनास्थलमै दुवै देशका प्रतिनिधिमण्डलले पास्क्वोटाङ्क नदीमा पुष्पमाला र रातो कार्नेसन अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। दिवंगत चालकदल सोभियत पाइलट क्याप्टेन निकोलाइ चिकभ र भ्लादिमिर लेभिन, लेफ्टिनेन्ट दिमित्री मेद्भेदेभ र अफानासी बोरोडिन, साथै क्यानाडाली रोयल एयर फोर्सका रेडियो अपरेटर लेफ्टिनेन्ट पिटर नातारोसलाई सैनिक सम्मानका साथ सम्झना गरियो।
‘जिब्रा’ नामक गोप्य परियोजनाअन्तर्गत सन १९४४ अप्रिलदेखि १९४५ अक्टोबरसम्म सोभियत र मित्र राष्ट्रका चालकदलहरूले संयुक्त तालिम लिएका थिए। यही परियोजनाअन्तर्गत अमेरिकामा निर्मित १८४ वटा उड्ने डुंगा सोभियत–जर्मन युद्धमोर्चामा पठाइएका थिए।

यो कार्यक्रमले दोस्रो विश्वयुद्धका बेला नाजीवादजस्तो साझा शत्रुविरुद्ध रेड आर्मी र अमेरिकी सशस्त्र सेनाबीच रहेको युद्धकालीन गठबन्धनको एक स्पष्ट उदाहरण प्रस्तुत गरेको रुसी पक्षको भनाइ छ। हिटलरविरोधी गठबन्धन अन्तर्गत सँगै लडेका वीर सैनिकहरूको स्मृति र सोभियत जनताले दिएको अपार बलिदान पवित्र रहेको र यसलाई कहिल्यै भुल्न नहुने सन्देश पनि कार्यक्रममा दोहोर्याइयो।
कार्यक्रमको अन्त्यमा एउटा भावनात्मक सन्देश पुनः स्मरण गराइयो: “कोही पनि बिर्सिएका छैनन्, केही पनि बिर्सिएको छैन।”





