अमेरिकी सैन्य विकल्पको चुनौती विरुद्ध इरानको युद्ध तथा वार्ताको तयारी

तेहरान। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरान विरुद्ध “अत्यन्त बलियो विकल्प” (very strong options) विचार गरिएको बताएपछि इरानी विदेश मन्त्री अब्बास अराघचीले देश युद्धको लागि तयार तथापि वार्ताको लागि खुला रहेको बताएका छन्।
अल जजीरालाई दिइएको अन्तर्वार्तामा अराघचीले भने, “यदि वासिंगटनले सैन्य विकल्प परीक्षण गर्न चाहन्छ भने उनले पहिले पनि गरिसकेका छन्, हामी त्यसको लागि तयार छौं।” उनले संयुक्त राज्यले वार्तालाई रोज्ने आशा पनि व्यक्त गरे।
उनले अमेरिकी विशेष दूत स्टिभ विटकफसँगको सम्पर्क “प्रदर्शनपहिले र पछि पनि जारी रहेको र अहिलेसम्म कायम रहेको” बताए।
अराघचीको यो बयान ट्रम्पले इरानले प्रदर्शनकारीमाथि गरेको “दमन” (crackdown) को प्रतिक्रियामा सैन्य कारबाही समेत समावेश “केही अत्यन्त बलिया विकल्प” अपनाउने धम्कीपछि आएको हो। ट्रम्पले इरानी अधिकारीहरूले वार्ता प्रस्ताव गर्दै अमेरिकासँग सम्पर्क गरेको र “बैठकको व्यवस्था भइरहेको” दाबी गरेका थिए।
डिसेम्बर २८ देखि इरानका धेरै सहरमा प्रदर्शन सुरु भएको छ। सुरुमा तेहरान बजारका व्यापारीहरू राष्ट्रिय मुद्रा रियलको अवमूल्यन र मुद्रास्फीति विरुद्ध प्रदर्शनमा उत्रिएका थिए जुन पछि अन्य सहरमा फैलियो। अशान्तिमा सुरक्षा बल र नागरिक दुवैको ज्यान गएको छ।
इरानी अधिकारीहरूले अमेरिका र इजरायल पृष्ठभूमिमा रहेको दाबी गरेका छन्।
अराघचीले अल जजीरासँगको कुराकानीमा अशान्तिपछि इन्टरनेट बन्द गर्नुको कारण पनि बताए। उनले भने, “हामीले विदेशबाट आतंककारी एजेन्टहरूलाई आदेश दिँदै गरेको अवाज रेकर्ड गरेका छौं, जसमा उनीहरूलाई प्रहरी बलमाथि गोली हान्न वा प्रहरी नभएमा प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिइएको छ। उनीहरूको उद्देश्य हत्या फैलाउने थियो।”





