ग्रिनल्याण्ड अमेरिकालाई बिक्री वा अधिग्रहण हुनेछैन : डेनिस र ग्रिनल्याण्ड प्रधानमन्त्रीको संयुक्त स्पष्टीकरण

कोपनहेगन । डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेन र ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनले मंगलबार एक संयुक्त प्रेस कान्फ्रेन्स गर्दै ग्रिनल्याण्डको बाह्य दाबी प्रति दृढ, एकताबद्ध अस्वीकार जनाएका छन्।
फ्रेडरिकसेनले यो ब्यवहारलाई मौलिक सिद्धान्तको विषय ठहराइन्। उनले भनिन्, “यो केवल ग्रिनल्याण्ड वा डेनिस अधिराज्यको मात्र कुरा होइन। यो सीमा बलपूर्वक परिवर्तन नहुने, एउटा जनतालाई किन्न नसकिने र सानो राष्ट्रले ठुलो राष्ट्रबाट डराउनु नपर्ने सिद्धान्तको कुरा हो।”
उनले भनिन्, “हामी केवल आफ्नो लागि मात्र होइन, त्यो विश्व व्यवस्थाको लागि उभिएका छौं जसमाथि हाम्रा पुर्खाहरूले हाम्रो लोकतन्त्र निर्माण गरे।” उनले डेनिस अधिराज्यभित्रको अविभाज्य सम्बन्धमाथि जोड दिइन्।
फ्रेडरिकसेनले क्यामेरा मार्फत सिधै ग्रिनल्याण्डका मानिसहरूलाई सम्बोधन गर्दै भनिन्, “प्रिय ग्रिनल्याण्डवासीहरू, तपाईंलाई थाहा हुनुपर्छ कि हामी सँगै उभिएका छौं।”
यस्तै, निल्सनले “ग्रिनल्याण्ड बिक्रीको लागि छैन” भने। उनले थपे, “हाम्रो लक्ष्य र इच्छा हाम्रो संवैधानिक स्थिति, अन्तर्राष्ट्रिय कानून, हाम्रो आफ्नो भूमिको हक र आत्मनिर्णयको हकको आदरमा आधारित सहकार्यमा शान्तिपूर्ण वार्ता नै हो।”
तर उनले स्पष्ट गरे, “एउटा कुरा सबैले बुझ्नु पर्छ: ग्रिनल्याण्ड संयुक्त राज्य अमेरिकाको स्वामित्वमा हुनेछैन। ग्रिनल्याण्ड संयुक्त राज्य अमेरिकाले शासन गर्नेछैन।” निल्सनले जोड दिए, “हामी अहिले भू-राजनीतिक संकटको सामना गर्दैछौं, र यदि हामीले यहीँ र अहिले अमेरिका र डेनिसबीच छनौट गर्नुपर्छ भने, हामी डेनिसलाई नै छान्छौं।”
पत्रकारहरूले डेनिसले अमेरिकालाई के दिन सक्छ भनेर सोध्दा फ्रेडरिकसेनले जवाफ दिइन्, “त्यो हो – आर्कटिकको रक्षा गर्ने र संयुक्त राज्यसँग मिलेर सुरक्षा कायम गर्ने।”
उनले थपे, “हामी अमेरिकीहरूलाई स्वतन्त्र राष्ट्रहरूबीच लोकतान्त्रिक सहकार्य दिन सक्छौं।”
डेनिसका स्थानीय मिडियाको जानकारी अनुसार, डेनिस विदेश मन्त्री लार्स लोक्के रास्मुसेन र ग्रिनल्याण्डका विदेश मन्त्री भिभियन मोट्जफेल्ट बुधबार वासिंगटनमा संयुक्त राज्यका उपराष्ट्रपति जेडी भेन्स र राज्य सचिव मार्को रुबियोसँग वार्तामा सहभागी हुनेछन्।
यो वार्ता तनावपूर्ण वातावरणमा हुन गइरहेको छ, किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ मा पदमा फर्केपछि ग्रिनल्याण्ड “प्राप्त” गर्ने इच्छा बारम्बार व्यक्त गर्दै आएका छन् र बल प्रयोगलाई पनि अस्वीकार गरेका छैनन्।





