अमेरिकी फेड र पावेललाई विश्वका प्रमुख केन्द्रीय बैंक गभर्नरहरूको समर्थन

फ्र्यांकफर्ट । ट्रम्प प्रशासनले अमेरिकी केन्द्रीय बैंक (फेड) विरुद्ध द्वन्द्व बढाएपछि विश्वका प्रमुख केन्द्रीय बैंकका गभर्नरहरूले मंगलबार फेड र त्यसका अध्यक्ष जेरोम पावेललाई पूर्ण समर्थन जनाएका छन्।

युरोपेली केन्द्रीय बैंक (ईसीबी) को वेबसाइटमा प्रकाशित बयानमा ११ प्रमुख केन्द्रीय बैंक प्रमुख र दुई अन्तर्राष्ट्रिय वित्तीय संस्थाका वरिष्ठ अधिकारीहरूले यसलाई समर्थन गरेका छन्। समर्थन पत्रमा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्दे र बेलायती केन्द्रीय बैंकका गभर्नर एन्ड्रयु बेलिए लगायत अस्ट्रेलिया, डेनमार्क, क्यानडा, दक्षिण कोरिया र ब्राजिलका केन्द्रीय बैंक प्रमुखहरूको हस्ताक्षर रहेको छ।

केन्द्रीय बैंक प्रमुखहरूले भने, “हामी सेवा गर्ने नागरिकहरूको हितमा मूल्य, वित्तीय र आर्थिक स्थिरताको आधारस्तम्भ नै केन्द्रीय बैंकहरूको स्वतन्त्रता हो।” उनीहरूले कानूनको शासन र लोकतान्त्रिक जवाफदेहिताको पूर्ण आदरका साथ यो स्वतन्त्रता संरक्षण गर्नु “अत्यन्त महत्वपूर्ण” रहेको बताए।

प्रेस समयसम्ममा हस्ताक्षरकर्ताको सङ्ख्या सुरुको नौबाट बढेर १३ पुगेको थियो।

२०१८ देखि फेड अध्यक्ष रहेका पावेलको हालको कार्यकाल मे २०२६ मा सकिनेछ। गत साताअन्तमा अमेरिकी संघीय अभियोजकहरूले फेडको मुख्यालय नवीकरणको बहु-अर्ब डलर परियोजनाका आधारमा पावेल विरुद्ध आपराधिक जाँच सुरु गरेको रिपोर्ट गरिएको थियो।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ब्याजदर नघटाएको आरोप लगाउँदै पावेललाई बारम्बार आलोचना गरिसकेका छन् र फेड अध्यक्षलाई बदल्ने धम्की पनि दिइसकेका छन्।

सोमबार, अमेरिकाका तीन पूर्व फेड अध्यक्ष र संघीय सरकारका अन्य १० पूर्व वरिष्ठ आर्थिक अधिकारीहरूले पनि पावेल विरुद्धको आपराधिक जाँचलाई आलोचना गर्दै यो “फेडको स्वतन्त्रतालाई कमजोर पार्न अभियोजकीय कारबाहीको अभूतपूर्व प्रयास” हो भनेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button