ट्रम्पले ईरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी दिए

वासिङ्गटन, पुस ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ईरानसँग कुनै पनि व्यापारिक सम्बन्ध राख्ने देशमाथि अमेरिकासँगको व्यापारमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यो निर्णय ‘तत्काल प्रभावकारी’ र ‘अन्तिम र निर्णायक’ भएको घोषणा गर्दै ईरान विरुद्धको आर्थिक दबाब कार्यक्रम अझ तीव्र पारेका छन्।
यसअघि श्वेतसदनका प्रवक्ता क्यारोलिन लिभिङ्टले अमेरिकाको प्राथमिकता कूटनीति नै हो भनेता पनि आवश्यक परेमा सैन्य कारबाही पनि विकल्पमा रहेको बताएकी थिइन्।
यो चेतावनी ईरानसँग व्यापार गर्ने चिन, भारत, टर्की लगायतका देशहरूको लागि ठूलो चुनौती बनेको छ। अर्थशास्त्रीहरूले यसले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो असर पार्न सक्ने बताएका छन्।
ट्रम्प प्रशासनले ईरानमाथि परमाणु कार्यक्रम र क्षेत्रीय अस्थिरताका आरोप लगाउँदै आएको छ भने ईरानले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानून उल्लङ्घन बताउँदै आएको छ।





