काँग्रेस विभाजनको संघारमा, देउवाको भूमिका निर्णायक

काठमाडौं / नेपाली काँग्रेस गम्भीर आन्तरिक संकटको मोडमा पुगेको छ। पार्टी विभाजनको डिलमा पुगिसकेको अवस्थामा महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि ‘अन्तिम प्रस्ताव’ अघि सारेका छन्। उक्त प्रस्ताव केही समयअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइएको हो, जसबारे अहिले पार्टी मुख्यालयस्थित कार्यवाहक सभापतिको कार्यकक्षमा छलफल चलिरहेको छ।

स्रोतका अनुसार महामन्त्री शर्माको प्रस्तावको केन्द्रीय बुँदा पार्टी सभापति शेरबहादुर देउवाले पद त्याग गर्दै अभिभावकीय भूमिकामा सीमित हुनुपर्ने विषय हो। आज बिहान महाराजगञ्जस्थित देउवा निवासमा भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र शर्माले सभापति देउवालाई सक्रिय नेतृत्वबाट विश्राम लिन स्पष्ट सुझाव दिएका थिए।

त्यस छलफलपछि शर्माले संस्थापन पक्षलाई औपचारिक रूपमा ‘अन्तिम प्रस्ताव’ पठाएका हुन्। “महामन्त्रीको प्रस्ताव कार्यवाहक सभापतिसम्म पुगेको छ र यसमाथि छलफल भइरहेको छ, तर सभापति देउवा सहमत हुने वा नहुने विषय अझै टुंगो लागिसकेको छैन,” स्रोतले जनाएको छ।

महामन्त्री शर्माको प्रस्तावमा पुनर्विचार नभए पार्टी विभाजन लगभग निश्चित हुने संकेत देखिएको छ। प्रस्तावमा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर अनिवार्य गर्नुपर्ने, सभापति देउवा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने तथा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनका निर्णयहरूलाई पूर्ण रूपमा मान्यता दिनुपर्ने मागहरू समेटिएका छन्।

देउवा निवासमा भएको छलफलमा सभापति देउवाले भने आगामी वैशाखमा हुने १५औँ महाधिवेशनपछि आफू स्वतः पार्टी नेतृत्वबाट बाहिरिने बताउँदै त्यतिन्जेल धैर्य गर्न आग्रह गरेका थिए। संस्थापन पक्षले केही लचकता देखाए पनि तत्काल पद त्याग्ने विषयमा सहमति नजुटेको विशेष महाधिवेशन पक्षधरहरूको दाबी छ।

चार–पाँच चरणसम्म भएका वार्ताहरूबाट समेत निकास ननिस्किएपछि विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। यसले नेपाली काँग्रेसभित्रको विवाद अब निर्णायक मोडमा पुगेको स्पष्ट संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button