काँग्रेसमा ठूलाे भूकम्पः गगन थापा र विश्वप्रकाश शर्मा निष्कासित

काठमाडौं — नेपाली कांग्रेसभित्रको आन्तरिक संकट निर्णायक मोडमा पुगेको छ। पार्टी संस्थापन पक्षले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुर लगायत नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको गतिविधि पार्टी हितविपरीत गएको ठहर गर्दै कडा कारबाहीको घोषणा गरेको हो। बैठकले पाँच वर्षका लागि उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ।
पार्टी नेतृत्वको यो कदमलाई नेपाली कांग्रेसको इतिहासकै कठोर निर्णयमध्ये एकका रूपमा हेरिएको छ। लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद, नेतृत्वप्रति असन्तोष र संगठनात्मक टकरावले अन्ततः यस्तो निर्णयमा पार्टी पुगेको विश्लेषकहरूको भनाइ छ।
निष्कासित नेताहरूले पछिल्लो समय नेतृत्वको कार्यशैलीमाथि खुलेर प्रश्न उठाउँदै आएका थिए। विशेष महाधिवेशन, निर्वाचन प्रक्रिया र पार्टी सुधारको विषयमा उनीहरूले संस्थापन पक्षसँग स्पष्ट मतभेद राख्दै आएका थिए, जसलाई पार्टी अनुशासन विपरीत गतिविधि ठहर गरिएको छ।
यस निर्णयसँगै नेपाली कांग्रेसभित्रको विवाद अब खुला विभाजनतर्फ जाने संकेत देखिएको छ। निष्कासनपछि पार्टीको भावी संरचना, संगठनात्मक एकता र आगामी राजनीतिक समीकरण थप अनिश्चित बनेको छ।
निष्कासनमा परेका नेताहरूको औपचारिक प्रतिक्रिया आउन बाँकी रहे पनि, यो निर्णयले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा गहिरो असर पार्ने निश्चित देखिएको छ।





