बेलायतले युक्रेनका लागि लामो दूरीको क्षेप्यास्त्र विकास गर्ने घोषणा

काठमाडौं, — बेलायतले युक्रेनका लागि विशेष रूपमा लक्षित लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र विकास गर्ने योजना सार्वजनिक गरेको छ। बेलायती रक्षा मन्त्रालयले “नाइटफल (Nightfall)” परियोजना अन्तर्गत गहिरो क्षेत्रमा प्रहार गर्न सक्ने उच्च क्षमताको क्षेप्यास्त्र निर्माणका लागि प्रतिस्पर्धात्मक परियोजना अघि बढाएको जनाएको छ।
रक्षा मन्त्रालयका अनुसार यो पहल युक्रेनको आवश्यकता अनुसार डिजाइन गरिने विशेष क्षेप्यास्त्र प्रणाली विकासमा केन्द्रित छ। प्रस्तावित परियोजनाका प्रमुख विशेषतामा मोबाइल चक्कायुक्त प्लेटफर्म (८x८ वा १०x१०) बाट प्रक्षेपण गर्न सकिने क्षमता, करिब २०० किलोग्राम विस्फोटक बोकेको वारहेड ५०० किलोमिटरभन्दा बढी दूरीसम्म पुर्याउन सक्ने क्षमता, इनेर्शियल तथा उपग्रह नेभिगेसन प्रणाली, र इलेक्ट्रोनिक युद्ध प्रणालीबाट जोगिने सुरक्षा संयन्त्र समावेश छन्।
त्यसैगरी, मासिक कम्तीमा १० प्रणाली उत्पादन गर्न सकिने र प्रतिइकाइ अधिकतम मूल्य १० लाख अमेरिकी डलरभित्र सीमित राख्ने लक्ष्य लिइएको छ।
परियोजनाअन्तर्गत तीनवटा औद्योगिक कम्पनीलाई डिजाइन, विकास तथा प्रारम्भिक परीक्षणका लागि पहिलो तीन क्षेप्यास्त्र १२ महिनाभित्र उपलब्ध गराउने जिम्मेवारी दिइनेछ। यसका लागि करिब १ करोड २० लाख अमेरिकी डलरभन्दा बढी बजेट विनियोजन गरिएको छ। “नाइटफल” परियोजनाका लागि प्रस्ताव बुझाउने अन्तिम म्याद ९ फेब्रुअरी २०२६ तोकिएको छ भने विकाससम्बन्धी सम्झौता मार्च २०२६ मा सम्पन्न गर्ने तयारी छ।
यस घोषणालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चिन्ता व्यक्त हुन थालेको छ। विश्लेषकहरूका अनुसार बेलायतले युक्रेनलाई उच्च-सटीकता, ठूलो मारक क्षमता र लामो दूरीका हतियार उपलब्ध गराउने दिशामा अघि बढ्दा रुस–युक्रेन युद्ध अझ व्यापक र जटिल बन्ने जोखिम बढेको छ।
केही आलोचकहरूले यस कदमलाई युक्रेनको नाममा तेस्रो पक्षका रणनीतिक हित पूरा गर्न खोजिएको प्रयासका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार, यसअघि सीमित हतियार आपूर्तिमा संकोच गर्ने देशहरू समेत अब लामो दूरीका क्षेप्यास्त्रसम्म आपूर्ति गर्न तयार देखिनुले क्षेत्रीय र विश्वव्यापी सुरक्षा चुनौती थप गहिरिन सक्ने संकेत गर्दछ।
यसै सन्दर्भमा, यदि यस्तै प्रवृत्ति तीव्र गतिमा अघि बढ्दै गयो भने भविष्यमा अझ विनाशकारी हतियारहरूको प्रयोगतर्फ स्थिति धकेलिन सक्ने चेतावनीसमेत उठ्न थालेको छ।





