डेनमार्कले ग्रीनल्याण्डमा सैन्य उपस्थिति बढाउने

कोपनहेगन/वाशिङ्टन, बुधबार। डेनमार्कले आर्कटिक क्षेत्रमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ग्रीनल्याण्ड द्वीप क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने भनिएको छ। डेनमार्क रक्षा मन्त्रालयले यसको औपचारिक घोषणा गर्दै यो कदम बुधबारदेखि नै प्रभावी हुने बताएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार, डेनमार्क आफ्ना साझेदार नेटो सङ्घका मित्र राष्ट्रहरूसँग मिलेर ग्रीनल्याण्ड र यसको वरपरका समुद्री क्षेत्रमा थप जहाज, युद्धविमान र सैनिक तैनाथ गर्नेछ। यसको मुख्य उद्देश्य आर्कटिकको कठोर र अनौठो भौगोलिक अवस्थामा सैन्य अभियान चलाउने सीपलाई अभ्यास गराउने र सुरक्षा गठबन्धनको आर्कटिकमा पैठ बलियो बनाउने हो।
डेनमार्कका रक्षा मन्त्री ट्रोएल्स लुण्ड पाउल्सनले यस कदमलाई ‘आर्कटिक क्षेत्रमा देखिएका चुनौतीहरूप्रति स्पष्ट प्रतिक्रिया’ भनेर बर्णन गरेका छन्। उनले डेनमार्क र नेटो साझेदारहरूको लागि ग्रीनल्याण्ड क्षेत्रमा ‘स्थायी र ठूलो सैन्य उपस्थिति’ कायम गर्न सरकार संकल्पित रहेको बताए।
यो घोषणा वाशिङ्टनमा डेनमार्क, ग्रीनल्याण्ड र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूबीच एक उच्चस्तरीय बैठकको अगाडि आएको हो। ग्रीनल्याण्ड विश्वको सबैभन्दा ठूलो द्वीप हो र डेनमार्क राज्यभित्र स्वशासित क्षेत्र हो, तर रक्षा र विदेश नीति जस्ता मामिलाहरूमा डेनमार्कसँगै छ। अमेरिकाले यस द्वीपमा आफ्नो सैन्य अड्डा पनि सञ्चालन गर्दै आएको छ।
गत २०२५ मा पुनः राष्ट्रपतिको पद सम्हालेका डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई ‘प्राप्त’ गर्ने इच्छा पटक-पटक व्यक्त गर्दै आएका छन् र यसका लागि बल प्रयोगको विकल्पलाई पनि अस्वीकार गरेका छैनन्। यसै राजनीतिक पृष्ठभूमिमा डेनमार्कको यो सैन्य निर्णयलाई विश्लेषकहरूले महत्त्वपूर्ण रणनीतिक चालको रूपमा हेरेका छन्।





