विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) ले २०२५ लाई इतिहासकै तेश्राे तातो वर्ष घोषणा गर्दै चेतावनी जारी

जेनेवा, बुधबार। विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ विश्वको तीन तातो वर्षहरू मध्ये एक थियो। यसले गत केही वर्षदेखि चलेको असाधारण रूपमा उच्च वैश्विक तापक्रमको क्रमलाई अझ बढाएको छ।

आठवटा प्रमुख तथ्याङ्क समूहको संयुक्त विश्लेषण अनुसार २०२५ को वैश्विक औसत सतही तापक्रम १८५०-१९०० को औसत भन्दा १.४४ डिग्री सेल्सियसले बढी रहेको छ। संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार, यी आठ मध्ये दुई डाटासेटले २०२५ लाई १७६ वर्षको इतिहासमा दोस्रो तातो वर्ष, भने बाँकी छले तेस्रो तातो वर्षको रूपमा वर्गीकरण गरेका छन्।

गत तीन वर्ष २०२३, २०२४ र २०२५ यी सबै आठवटै तथ्याङ्कमा सबैभन्दा तातो वर्षहरू साबित भएका छन्। यी तीन वर्षको संयुक्त औसत तापक्रम औद्योगिक पूर्वको स्तरभन्दा १.४८ डिग्री सेल्सियसले बढी रहेको छ।

डब्लूएमओका महासचिव सेलेस्टे सौलोले भनिन्, “२०२५ वर्ष सुरुवात र अन्त्य दुवै ला निना (सागरिय शीतलीकरण) को अवस्थामा भए पनि, वायुमण्डलमा ताप कैद गर्ने ग्रीनहाउस ग्याँसहरू बढ्दै गएकाले यो वर्ष इतिहासकै तातो वर्षहरूमा सूचीकृत भएको हो।” उनले थपे– जमिन र समुद्रको उच्च तापक्रमले गर्मी लहर, भारी वर्षा र प्रचण्ड उष्णकटिबन्धीय चक्रवात जस्ता चरम मौसमी घटनाहरूलाई ईन्धन दिएको छ, जसले पूर्वचेतावनी प्रणालीको आवश्यकता रेखाङ्कित गर्दछ।

डब्लूएमओको अनुसार, ‘एड्भान्सेज इन एटमोस्फेरिक साइन्सेज’ मा प्रकाशित एउटा अलग अध्ययनले २०२५ मा समुद्री तापक्रम पनि इतिहासकै उच्चस्तरमा रहेको देखाएको छ, जसले जलवायु प्रणालीमा ताप दीर्घकालीन रूपमा सञ्चित भइरहेको प्रतिबिम्बित गर्दछ। वैश्विक तापकरणबाट हुने अतिरिक्त तापक्रमको करिब ९० प्रतिशत समुद्रमा सञ्चित हुन्छ, जसकारण समुद्री ताप जलवायु परिवर्तनको एउटा महत्त्वपूर्ण सूचक हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button