संयुक्त राष्ट्रका विशेष दूत ग्रुन्डबर्गले यमनका लागि व्यापक राजनीतिक प्रक्रिया अपरिहार्य बताए

संयुक्त राष्ट्र, न्यूयोर्क, बुधबार। यमनका लागि संयुक्त राष्ट्रका विशेष दूत हान्स ग्रुन्डबर्गले युद्धबाट ध्वस्त भएको यस देशमा व्यापक राजनीतिक प्रक्रियाको आवश्यकता बलियो रूपमा रेखाङ्कित गरेका छन्।
संयुक्त राष्ट्र सुरक्षा परिषदमा बुधबार दिएको ब्रीफिङमा ग्रुन्डबर्गले यमनको राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरू एकअर्कासँग अविभाज्य रहेको तथा एउटाकाे प्रगति अर्को बिना टिक्न नसक्ने बताए।
उनले भने, “यसैकारण अन्ततः यमनलाई एक व्यापक, समावेशी र राष्ट्रव्यापी राजनीतिक प्रक्रियाको आवश्यकता छ, यस्तो प्रक्रिया जसले यमनवासीलाई यी प्रश्नहरू एक्लै होइन, सँगै बहस र वार्ता गर्ने अवसर दिन्छ।”
ग्रुन्डबर्गले थपे कि यस्तो प्रक्रिया मार्फत मात्र यमनवासीको साझा आकांक्षा पूरा हुसक्छ र दीर्घकालीन रूपमा यस देशको संघर्ष समाप्त गर्न सकिन्छ।
उनले स्पष्ट पारे कि प्रगतिको लागि हुथी सहित सबै पक्षहरूले तनाव बढाउने कारबाई वा भाषाबाट टाढा रहनुपर्नेछ र संयुक्त राष्ट्रको संरक्षणमा विश्वास निर्माणका कदमहरू र व्यापक राजनीतिक प्रक्रियामा संलग्न हुन खुला रहनुपर्नेछ।
विशेष दूतले दक्षिणी यमनमा भएका घटनाक्रमहरूले कसरी नाजुक सन्तुलन चाँडै बिग्रन सक्छ र विश्वसनीय राजनीतिक मार्गमा प्रक्रियालाई पुनः केन्द्रित गर्नु कति महत्त्वपूर्ण छ भनेर देखाएको बताए।
ग्रुन्डबर्गले सचेत गराउँदै भने, “यमनका धेरै चुनौतीहरूलाई एकल होइन एकीकृत रूपमा सम्बोधन गर्ने व्यापक दृष्टिकोण नभएमा, बारम्बार हुने र अस्थिरता ल्याउने चक्रहरू यस देशको यात्राको स्थायी विशेषता बनेर रहने जोखिम रहनेछ।”





