महान्यायाधिवक्ताको कार्यालय कलंकित : ओलीको तीब्र आलोचना

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कहिल्यै नबिर्सनेगरी कलंकित बनेको टिप्पणी गर्नुभएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता गर्ने निर्णयको प्रतिक्रिया स्वरूप उहाँले यस्तो टिप्पणी गर्नु भएको हो।
ओलीले सुशीला कार्की नेतृत्वको सरकारले ठग र अनियमिततामा लिप्त व्यक्तिहरूलाई प्रोत्साहन गरेको दावी गर्दै भन्नुभयाे, “जसको लौरो त्यसैको भैँसी भनेजस्तो शासन नेपालमा पनि स्थापना भएको छ। महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ। अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि मजाले खान पाइन्छ। हिजो मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा गरेर चुनावमा हिरो बनाएर अगाडि सारिन्छ।”
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकारको कार्यशैलीले आम जनमानसमा निराशा र असन्तुष्टि सिर्जना गरेको पनि बताउनुभयाे। आक्रोश पोख्दै उहाँले भन्नुभयाे, “डिम्बका काण्ड बिर्सिउ कि भन्यो फेरि अर्को काण्ड, अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड, दुनियाँभर हिनामिना भएको पैसा कसले तिर्छ? महान्यायाधिवक्ता कार्यालयले तिर्ने हो?”
ओलीको यो तीब्र टिप्पणीले न्यायिक निकायको निष्पक्षता र वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। यसले आगामी राजनीतिक बहसमा नयाँ ऊर्जा थप्ने संकेत पनि देखिएको छ।





