४५औँ योग केन्द्रमा ११औँ राष्ट्रिय योग दिवस भव्य रुपमा सम्पन्न

बहादुरपुर, माघ १ — श्रद्धेय वरिष्ठ योग प्रशिक्षक तथा ४५औँ योग केन्द्रका प्रमुख संयोजक पुष्पा थापाको उपस्थितिमा ११औँ राष्ट्रिय योग दिवस बहादुरपुर शिव मन्दिर परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा पुष्पा थापाको निर्देशन र शुभकामना सहित योग अभ्यास र स्वास्थ्यको महत्वलाई उच्चस्तरीय रूपमा प्रस्तुत गरिएको थियो।
समारोहको सभापतित्व ४५औँ योग केन्द्रका प्रमुख संयोजक पुष्पा थापाले गर्नु भएको थियो। भने, प्रमुख अतिथि खजुरा गाउँपालिका वडा १ का अध्यक्ष मनविर क्षेत्री, विशिष्ट अतिथिहरू ४७ र ४६ योग केन्द्रका संयोजक क्रमशः नकुल थापा र गिता थापाले मन्तव्य राख्नुभयो। साथै शिक्षा क्षेत्रमा अतुलनीय योगदान गर्ने जयलाल अधिकारी, मैटहवा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिंह साउद, वागेश्वरी मन्दिर, मैटहवा मन्दिर र शिव मन्दिर समितिका अध्यक्षहरू क्रमशः मिन थापा, चेत राना र सुक खड्काकाे समेत कार्यक्रममा सहभागिता थियो।
कार्यक्रमको उद्घोषण योग प्रशिक्षक प्रकाश खड्काले गर्नु भएको थियो भने स्वागत मन्तव्य ४५औँ योग केन्द्रका सह-संयोजक रमेश थापाले गर्नुभयो। प्रमुख अतिथि, विशिष्ट अतिथि र सभापतिले दैनिक योगको स्वास्थ्य लाभ र राष्ट्रिय योग दिवसको महत्वबारे आफ्ना अनुभव र मन्तव्य प्रस्तुत गर्नुभयो।
समारोहमा शिक्षा प्रेमी, समाजसेवी र बुद्धिजीवीहरूले पनि योग अभ्यासको व्यक्तिगत र सामाजिक महत्वबारे आफ्ना विचार व्यक्त गर्नु भयो। अन्त्यमा सभापति पुष्पा थापाले कार्यक्रमको समापन गर्दै सहभागि सबैमा धन्यवाद व्यक्त गर्नु भयो।
समारोहले योगको महत्व र राष्ट्रिय स्तरमा यसको प्रचार–प्रसार गर्ने उद्देश्यलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय समुदायमा स्वास्थ्य र आत्मिक अनुशासनको प्रवर्द्धन गर्ने सन्देश प्रवाह गरेको छ। कार्यक्रम सम्पन्न भइसकेपछि सामूहिक तस्बिर खिचिएकाे थियो।





