ग्रीनल्याण्डमा युरोपेली सैन्य उपस्थिती बढ्दै : फ्रान्सको अग्रसरता, डेनमार्कसँग संयुक्त अभ्यास

बेइजिङ/पेरिस — आर्कटिक क्षेत्रको रणनीतिक महत्त्व झनै बढ्दै जाँदा ग्रीनल्याण्डमा युरोपेली मुलुकहरूको सैन्य उपस्थिती विस्तार हुन थालेको छ। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँनले ग्रीनल्याण्डमा फ्रान्सेली सेनाको पहिलो टोली पहिले नै तैनाथ भइसकेको र आगामी दिनहरूमा स्थल, हवाई तथा सामुद्रिक साधनसहित थप बल पठाइने घोषणा गरेका छन्।

इस्त्र्स वायुसेना अड्डामा सशस्त्र बलका लागि दिएको नयाँ वर्षको सम्बोधनका क्रममा राष्ट्रपति माक्रोँनले डेनमार्कको अनुरोधमा फ्रान्सले ग्रीनल्याण्डमा आयोजना गरिएको संयुक्त सैन्य अभ्यासमा सहभागिता जनाउने निर्णय गरेको स्पष्ट पारे। यसअघि सामाजिक सञ्जाल ‘एक्स’मार्फत पनि उनले डेनमार्कसँगको सहकार्यमा फ्रान्स अभ्यासमा सहभागी भएको जानकारी दिएका थिए।

आफ्नो सम्बोधनमा माक्रोँनले फ्रान्स र उसका युरोपेली साझेदारहरूले आफ्ना हितहरू जोखिममा पर्ने स्थानमा शान्त तर दृढ रूपमा उपस्थित रहनुपर्ने आवश्यकता औँल्याए। उनले कुनै प्रकारको तनाव नबढाई, तर भू–सार्वभौमिकताको सम्मानमा कुनै सम्झौता नगर्ने नीति अपनाइने स्पष्ट सन्देश दिए।

यही दिन फ्रान्सका विदेश मन्त्री जाँ–नोएल बारोले ग्रीनल्याण्डप्रति युरोपेली संघको ‘रणनीतिक जिम्मेवारी’ रहेको बताएका छन्। आर्कटिक क्षेत्रको सुरक्षा युरोपकै सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले डेनमार्कसँग ऐक्यबद्धता देखाउनु युरोपका लागि अपरिहार्य भएको धारणा राखे। लाट्भियाका विदेश मन्त्रीसँग संयुक्त पत्रकार सम्मेलनमा उनले संयुक्त अभ्यासमा सहभागिता जनाउनु ‘यथार्थबोध र एकता’को छनोट भएको बताए।

ग्रीनल्याण्डमा युरोपेली गतिविधि यत्तिमै सीमित छैन। जर्मनीको रक्षा मन्त्रालयले पनि बहुराष्ट्रिय टोही मिसनमा सहभागिता जनाउने घोषणा गरेको छ। डेनमार्कको निमन्त्रणामा जर्मन सेनाका १३ सदस्यीय टोली अन्य युरोपेली राष्ट्रहरूसँग मिलेर क्षेत्रीय सुरक्षामा सम्भावित योगदानको मूल्याङ्कन गर्न ग्रीनल्याण्ड जाने तयारीमा छन्।

यसैगरी, स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले डेनमार्कको अनुरोधमा स्विडेनले पनि सैनिक पठाइसकेको जानकारी दिएका छन्। नर्वेले समेत सहयोगी राष्ट्रहरूबीच आगामी सहकार्यको रूपरेखा तयार गर्न दुई सैनिक अधिकारी ग्रीनल्याण्ड पठाउने घोषणा गरेको छ।

डेनमार्कको अधीनमा स्वशासित क्षेत्रका रूपमा रहेको ग्रीनल्याण्डको रक्षा र विदेश नीति भने कोपेनहेगनकै नियन्त्रणमा छ। त्यहाँ अमेरिकाको स्थायी सैन्य अड्डा समेत रहेको छ। सन २०२५ मा पुनः राष्ट्रपति पद सम्हालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड ‘प्राप्त’ गर्ने इच्छा बारम्बार सार्वजनिक गर्दै आएका छन्, जसले हालसालै थप चासो र तनाव उत्पन्न गराएको छ।

यी घटनाक्रमहरूले ग्रीनल्याण्डलाई केवल आर्कटिक भूभाग मात्र नभई विश्व शक्ति सन्तुलनको केन्द्रबिन्दुका रूपमा स्थापित गरिरहेको संकेत गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button