सानेपामा शक्ति सन्तुलनको लडाइँ, देउवापक्षीय युवाको पहरामा कांग्रेस कार्यालय

काठमाडौं / पार्टीभित्र समानान्तर केन्द्रीय कार्यसमिति गठन भएपछि नेपाली काँग्रेसको ललितपुरस्थित सानेपा केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाइएको छ। केन्द्रीय सदस्य गणेश लामाको संयोजनमा तरुण दललाई अघि सार्दै देउवापक्षीय युवाहरू कार्यालय सुरक्षामा खटिएका छन्।
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएयता शेरबहादुर देउवा पक्षीय युवा संगठन सक्रिय बनेका छन्। दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै कार्यालय प्रवेश गर्न सक्ने सम्भावना देखिएपछि बिहीबारदेखि नै देउवापक्षीय युवाहरू कार्यालय परिसरमा पहरा दिइरहेका छन्।
४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको अगुवाइमा बुधबार साँझदेखि युवाहरू केन्द्रीय कार्यालयमा बसेको काँग्रेसका एक नेताले जानकारी दिए।
संस्थापन पक्षको समर्थनमा कार्यालय सुरक्षाको जिम्मा सम्हालेका लामा र गुरुङको भूमिकालाई लिएर काँग्रेसभित्रै नेकपा एमालेका नेता महेश बस्नेतसँग तुलना हुन थालेको छ।





