चीन–क्यानडा सम्बन्ध नयाँ चरणमा: राष्ट्रपति सी र प्रधानमन्त्री कार्नीबीच भेट, रणनीतिक साझेदारीलाई गति

बेइजिङ — चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ। तीन महिनाभन्दा कम अवधिमा दोस्रो पटक भएको यो भेट चीन–क्यानडा द्विपक्षीय सम्बन्धलाई नयाँ दिशामा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ। गत वर्षदेखि क्रमशः सुधारको संकेत देखिएको दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै नेताबीच व्यापक छलफल भएको बताइएको छ।

गत अक्टोबरमा दक्षिण कोरियाको ग्येङ्जुमा भएको सी–कार्नी भेटले चीन–क्यानडा सम्बन्धमा महत्वपूर्ण मोड ल्याएको थियो। त्यस भेटपछि द्विपक्षीय सम्बन्ध सकारात्मक दिशामा अघि बढेको र विभिन्न क्षेत्रमा सहकार्य पुनः सुरु गर्ने विषयमा ठोस सहमति बनेको चिनियाँ पक्षको भनाइ छ।

प्रधानमन्त्री कार्नीको यो भ्रमण पछिल्ला आठ वर्षयता क्यानडाली प्रधानमन्त्रीको चीन भ्रमणका रूपमा चिनिन्छ। भेटका क्रममा राष्ट्रपति सीले चीन–क्यानडा सम्बन्धको स्वस्थ र स्थिर विकास दुवै देशका साझा हितमा मात्र नभई विश्व शान्ति, स्थायित्व, विकास र समृद्धिका लागि पनि उपयोगी हुने धारणा राखे।

राष्ट्रपति सीले इतिहास, जनताको हित र विश्वप्रतिको जिम्मेवारीलाई ध्यानमा राख्दै चीन–क्यानडाबीचको नयाँ रणनीतिक साझेदारीलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले सम्बन्धलाई दीर्घकालीन, सन्तुलित र दिगो विकासको मार्गमा लैजान सके दुवै देशका जनताले ठोस लाभ पाउने विश्वास व्यक्त गरे।

उनका अनुसार चीन र क्यानडा पारस्परिक सम्मान, साझा विकास, आपसी विश्वास र सहकार्यमा आधारित साझेदार हुनुपर्छ। फरक राष्ट्रिय अवस्था भए पनि एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक प्रणाली र विकास मार्गको सम्मान गर्नु नै सही सहअस्तित्वको आधार हुने उनले बताए।

आर्थिक तथा व्यापारिक सम्बन्धबारे बोल्दै राष्ट्रपति सीले चीन–क्यानडा सहकार्यको मूल आधार पारस्परिक लाभ र ‘विन–विन’ सिद्धान्त भएको उल्लेख गरे। चीनको उच्च गुणस्तरीय विकास र खुला अर्थनीतिले आगामी दिनमा चीन–क्यानडा सहकार्यका लागि नयाँ अवसर र सम्भावना विस्तार गर्ने उनले बताए। सहकार्यलाई अझ गहिरो र व्यापक बनाउँदै नकारात्मक सूची घटाउन दुवै पक्षले प्रयास बढाउनुपर्नेमा पनि उनले जोड दिए।

सीले शिक्षा, संस्कृति, पर्यटन, खेलकुद तथा प्रादेशिक तहमा आदान–प्रदान र सहकार्य बढाउन, साथै दुवै देशबीचको आवत–जावत सहज बनाउन आग्रह गरे, जसले जनस्तरमा सम्बन्धलाई अझ मजबुत बनाउने उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय मञ्चबारे बोल्दै राष्ट्रपति सीले संयुक्त राष्ट्रसंघ, जी–२० र एशिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) जस्ता बहुपक्षीय संरचनामा क्यानडासँग समन्वय र सहकार्य बढाउन चीन तयार रहेको बताए।

प्रधानमन्त्री कार्नीले चीन र क्यानडाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आर्थिक संरचनामा एकअर्कालाई पूरक हुने अवस्था रहेको उल्लेख गरे। दुवै देशबीच साझा हित र सहकार्यका व्यापक सम्भावना रहेको उनको भनाइ थियो।

क्यानडाले चीनसँग दीर्घकालीन, बलियो र स्थायी नयाँ रणनीतिक साझेदारी निर्माण गर्न चाहेको उल्लेख गर्दै कार्नीले यसले दुवै देशका जनतालाई थप लाभ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले क्यानडाले ‘एक–चीन नीति’प्रति प्रतिबद्धता पुनः पुष्टि गर्दै पारस्परिक सम्मान र साझेदारीको भावनामा चीनसँग सहकार्य विस्तार गर्न चाहेको बताए।

अर्थतन्त्र, व्यापार, ऊर्जा, कृषि, वित्त, शिक्षा, जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहकार्य सुदृढ गर्न क्यानडा इच्छुक रहेको कार्नीले जनाए। उनले बहुपक्षीयताले नै विश्व शान्ति र स्थायित्वको आधार तयार गर्ने उल्लेख गर्दै राष्ट्रपति सीले अघि सारेको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ महत्त्वपूर्ण रहेको बताए।

छिटो परिवर्तनशील र अस्थिर विश्व परिस्थितिमा क्यानडाले चीनसँग बहुपक्षीय समन्वय बढाएर संयुक्त राष्ट्रसंघको भूमिकालाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व प्रवर्द्धन गर्न चाहेको कार्नीको भनाइ थियो।

प्रधानमन्त्री कार्नीको भ्रमणका क्रममा चीन–क्यानडा नेताहरूको संयुक्त वक्तव्य जारी गरिएको छ भने व्यापार, भन्सार, ऊर्जा, निर्माण, संस्कृति र सार्वजनिक सुरक्षासम्बन्धी विभिन्न सहकार्य दस्तावेजहरूमा हस्ताक्षर भएको छ।

यसअघि बिहीबार चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि कार्नीसँग वार्ता गरेका थिए। सो अवसरमा लीले चीनमा क्यानडाली कम्पनीहरूको लगानी स्वागतयोग्य रहेको बताउँदै क्यानडाले पनि चिनियाँ कम्पनीहरूका लागि निष्पक्ष र भेदभावरहित व्यावसायिक वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

रेन्मिन विश्वविद्यालयअन्तर्गत चोङयाङ वित्तीय अध्ययन संस्थानका डिन वाङ वेनका अनुसार नयाँ क्यानडाली सरकारले चीनसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नु व्यावहारिक र यथार्थपरक नेतृत्वको संकेत हो। स्थिर द्विपक्षीय सम्बन्ध पुनःस्थापित हुँदा राजनीतिक विश्वास बढ्ने र अर्थतन्त्र, व्यापार, संस्कृति लगायतका क्षेत्रको सहकार्य पुनः सही दिशामा फर्कने, जसको प्रत्यक्ष लाभ दुवै देशका जनताले पाउने उनको विश्लेषण छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button