दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल नेतृत्वकाे रोजाइमा, विष्णु रिजालको आभार–क्षमाप्रार्थना

दैलेख – नेकपा (एमाले)का वरिष्ठ नेता विष्णु रिजालले हालै सम्पन्न निर्वाचन र उम्मेदवार छनोट प्रक्रियाप्रति आभार व्यक्त गर्दै आफूले अनुभव गरेको राजनीतिक यात्रा र समर्पणको भाव व्यक्त गरेका छन्।
रिजालले फेसबुकमार्फत सार्वजनिक गरेकाे सन्देशमा भनिएको छ, “यस पटकको निर्वाचनमा म दैलेख–२ बाट कार्यकर्ताको मतदानमा पहिलो नम्बरमा सिफारिश भएँ। जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए। तर, नेतृत्वको रोजाइमा तेस्रो पटक पनि पर्न सकिएन।”
उहाँले आफ्नो हारप्रति निराशा व्यक्त गर्दै मतदान गर्ने, साथ सहयोग दिने, शुभेच्छा र हौसला प्रदान गर्ने सबै नेता, कार्यकर्ता र दैलेख–२ का बासिन्दाप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै, फेरि पनि तपाईंहरुको भावना साकार पार्न असमर्थ भएकोमा विनम्रतापूर्वक क्षमाप्रार्थी रहेको उल्लेख गरेका छन्।
नेतृत्वले अनुभवशील लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिएको विषयमा टिप्पणी गर्दै भनेका छन्, “म सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लडेका लक्ष्मीजीलाई फेरि टिकट दिनु, उहाँको अद्भूत क्षमता र अनुभवको प्रमाण हो। पार्टी आन्तरिक चुनावमा पहिलो रोजाइमा नपरे पनि उहाँको नेतृत्वको क्षमता प्रशंसनीय छ।”
रिजालले आफ्नो राजनीतिक समर्पण र स्थायित्वको पनि झल्को दिएका छन्। “म राजनीतिमा स्वेच्छाले लागेको हुँ। दैलेखी जनता, देश र पार्टीलाई सकेको योगदान गर्न कुनै कसर बाँकी राख्ने छैन। २९ वर्षअघि अखिलको जिल्ला अध्यक्ष भएदेखि अहिलेसम्म निरन्तर सक्रिय छु। पद नपाए पनि आगामी दिनमा पनि यही क्षेत्रमा रहनेछु।”
पार्टी विभाजन र व्यक्तिगत आक्रमणका बारेमा भने उनले स्पष्ट मत राखेका छन्। “आजसम्म म कहिल्यै फुट र विभाजनको पक्षमा लागेको छैन। विगतमा पार्टी विभाजनमा लागेर आफ्नै हितमा मात्र उठ्ने प्रयास गरेका व्यक्तिहरूलाई आफ्नो मात्र पार्टी बनाउन लागेको देखाउनु हास्यास्पद छ। राजनीतिमा मेरो कमजोरी व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण नगरी, मात्र पार्टी र देशको हितमा काम गर्नु हो।”
उनले अन्त्यमा पार्टीबाट उम्मेदवार बन्ने सबैलाई शुभकामना दिंदै, “यसबीचमा आएको फोन कल उठाउन असमर्थ भएकोमा क्षमाप्रार्थी छु” भन्ने स्पष्टिकरण पनि दिएका छन्।





