सल्यानमा नयाँ नेतृत्वको माग: रमेश मल्ललाई सक्षम र विश्वसनीय विकल्पका रूपमा अघि सारिँदै

सल्यान — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीभित्र उम्मेदवार टुंगो लगाउने विषयमा बहस तीव्र बन्दै गएको छ। यस क्रममा पार्टीभित्र विभिन्न आधार र मापदण्डमा सम्भावित उम्मेदवारहरूको मूल्याङ्कन भइरहेको छ।
पार्टी स्रोतका अनुसार, रमेश मल्ल लामो समयसम्म पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवका रूपमा कार्यरत रहँदै आएका अनुभवी नेता हुन्। केन्द्रीय नेतृत्वसँग नजिकबाट काम गरेको अनुभव, संगठनात्मक क्षमता र राजनीतिक अनुशासनका कारण पार्टीले जिम्मेवारी दिएमा उनले त्यसलाई सहजरूपमा बहन गर्न सक्ने क्षमता राख्ने नेताका रूपमा उनलाई हेरिएको छ।
यतिबेला देशभर पार्टीभित्र युवाको भूमिका र नेतृत्वको आवश्यकतालाई महत्त्वका साथ उठाइँदै आएको सन्दर्भमा, स्वच्छ छवि र कम विवादित पृष्ठभूमि भएका रमेश मल्ल सल्यानका लागि एकमात्र योग्य विकल्प हुन सक्ने धारणा पार्टीभित्र बलियो रूपमा उठिरहेको छ।
यसैबीच अर्का आकांक्षी प्रकाश ज्वालाको विषयमा भने पार्टीभित्र आलोचनात्मक मूल्याङ्कन पनि भइरहेको छ। पार्टी स्रोतहरूका अनुसार, उनी विभिन्न विवाद र काण्डसँग जोडिँदै आएका कारण जनस्तरमा नकारात्मक धारणा बनिसकेको छ। साथै, पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कारण अब नयाँ उम्मेदवार खोज्नुपर्ने मत पनि पार्टीभित्रैबाट उठेको छ। यही कारण, यदि प्रकाश ज्वालालाई टिकट दिइएमा सल्यान क्षेत्रबाट पार्टी पराजित हुनसक्ने जोखिम रहेको विश्लेषण कतिपय नेताकार्यकर्ताले गरिरहेका छन्।
पार्टी नेतृत्वले सबै पक्ष, सम्भावना र जनभावनालाई ध्यानमा राखेर अन्तिम निर्णय गर्ने बताएको छ। उम्मेदवार चयनको यो प्रक्रियाले केवल व्यक्ति होइन, पार्टीको भविष्य र निर्वाचन जित–हारसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले निर्णय अत्यन्त संवेदनशील र रणनीतिक हुने देखिएको छ।





