पोखरामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले उनलाई सोमबार दिउँसो पोखराको लेकसाइडबाट नियन्त्रणमा लिएको हो।

मेडिकल व्यवसायी प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएकाे प्रहरीले जनाएको छ।

प्रसाईंले केही दिनअघि भक्तपुरस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका थिए। उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको समूहले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ घुस खुवाएर आधिकारिकता पाएको दाबी गरेका थिए।

पत्रकार सम्मेलनमा पैसाले भरिएको बोराको भिडियो देखाउँदै उनले भनेका थिए, ‘गगन थापाहरूले त्यत्तिकै रुख चिन्ह आफ्नो बनाएका होइनन्, त्यहाँ पूरै ५२ करोडको खेल छ।’

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रसाईंले असन्तुलित अभिव्यक्ति दिएर चुनावी माहोल बिथोल्ने प्रयास गरेको निष्कर्ष सुरक्षा निकायले निकालेको स्रोतको भनाइ छ। त्यसपछि उनीमाथि निगरानी बढाइएको थियो।

हिजो निर्वाचन आयोगले नै प्रसाईंमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएपछि प्रहरीको साइबर ब्युरोलाई उनलाई पक्राउ गर्न सहज भएको स्रोतले जनाएको छ।

प्रहरीका अनुसार प्रसाईंविरुद्ध साइबर अपराध तथा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइने तयारी गरिएको छ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button