बाँके–३ मा जोशिलो युवानेता सुमन मल्ललाई एमालेको टिकट, विकास र नेतृत्वको मूल्यांकन

काठमाडौं । नेकपा एमालेले बाँके क्षेत्र नम्बर ३ को उम्मेदवारका रूपमा युवा नेता सुमन मल्ललाई आधिकारिक टिकट दिने निर्णय गरेको छ। पार्टीका नेता र कार्यकर्ता अनुसार बदलिँदो राजनीतिक परिस्थिति र स्थानीय युवा तथा आम जनताको समर्थनले उनलाई टिकट दिन निर्णायक भूमिका खेलेको हो।
सुमन मल्ल खजुरा गाउँपालिका वडा १ का पूर्व वडाध्यक्ष रहँदा उनले बिजुली, सडक र सञ्चारका क्षेत्रमा विकास परियोजना सम्पन्न गरेर स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याएका थिए। उनका यी उपलब्धिहरूले उनलाई स्थानीय जनता माँझ लोकप्रिय र विश्वासिलो युवा नेताको रूपमा स्थापित गरेको छ।
एमालेको प्रारम्भिक निर्णयले दल बहादुर सुनारलाई उम्मेदवार बनाउने योजना गरेको भए पनि २४ घण्टाभित्रै पार्टीले सुमन मल्ललाई उम्मेदवार घोषणा गर्दै जनतामाँझको लोकप्रियता र युवा नेतृत्वको जोशलाई प्राथमिकता दिएको छ।
त्यस्तै बाँके १ र २ मा क्रमशः सुर्य ढकाल र पूर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई उम्मेदवार बनाउने निर्णय यथावत राखिएको छ।
विश्लेषकहरूले एमालेको यो कदमलाई स्थानीय विकासमा अनुभव र युवा नेतृत्वको जोशलाई मान्यता दिने साहसी निर्णयको रूपमा व्याख्या गरेका छन्। सुमन मल्लको उम्मेदवारीले क्षेत्रीय विकास र युवामैत्री राजनीतिक नेतृत्वको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।





