कांग्रेसले टुंग्यायो ४९ उम्मेदवार, प्रदेश–जिल्ला समेट्दै चुनावी तयारी तीव्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले हालसम्म ४९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। भने अन्य सबै जिल्लामा पार्टीका अध्यक्षले निर्देशन दिएका ब्यक्तिले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउन सार्वजनिक अपील गरिएको छ। पार्टीले पहाडी तथा हिमाली जिल्लालाई प्राथमिकतामा राख्दै पूर्वदेखि पश्चिमसम्मका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको हो।

कांग्रेसका अनुसार पूर्वी रुकुमदेखि मुस्ताङसम्मका जिल्लामा अनुभवी नेता, स्थानीय आधार बलिया उम्मेदवार र केही नयाँ अनुहारलाई समेत समेटेर सूची सार्वजनिक गरिएको छ। रोल्पा, दाङ, पाल्पा, कर्णालीका हिमाली जिल्ला, पूर्वी पहाड र गण्डकी क्षेत्रका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउँदा क्षेत्रीय सन्तुलन र संगठनात्मक पकडलाई ध्यानमा राखिएको पार्टी स्रोतले जनाएको छ।

सूचीअनुसार पूर्वी रुकुममा कुसुम थापा मगर, रोल्पामा सुदनकुमार ओली, प्युठानमा डा. गोविन्दराज पोखरेल, दाङका तीनवटै क्षेत्रमा क्रमशः योगेन्द्र चौधरी, किरणकिशोर घिमिरे र दीपक गिरीलाई उम्मेदवार बनाइएको छ। कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पामा पनि कांग्रेसले आफ्नो उम्मेदवार तय गरिसकेको छ।

पूर्वी पहाडतर्फ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर र भोजपुरमा उम्मेदवार टुंगो लागेको छ भने मोरङ–३ मा डा. सुनिल शर्मालाई उम्मेदवार बनाइएको छ।

सुदूरपश्चिमका दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी र अछामका दुवै क्षेत्रमा उम्मेदवार तय भएको छ। यस्तै गण्डकी प्रदेशअन्तर्गत गोरखा, तनहुँ, लमजुङ, मनाङ, स्याङ्जा, बागलुङ, म्याग्दी र मुस्ताङमा पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छ।

पार्टीभित्र बाँकी निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याउने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। कांग्रेस नेतृत्वले सहमति र संगठनको सन्तुलन मिलाउँदै बाँकी क्षेत्रमा समेत छिट्टै निर्णय लिने तयारी गरेको जनाएको छ। उम्मेदवार छनोटसँगै कांग्रेस चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र बनाउने रणनीतिमा जुटेको देखिन्छ।

यतिबेला नेपाली काँग्रेसका दुवैपक्ष छलफलमा ब्यस्त छन् र शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दिएको मुद्दा फिर्ता लिने र सबैसँगै मिलेर निर्वाचनमा खटिने सहमति हुँदै गरेको जानकारी प्राप्त भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button