चीनको इनर मङ्गोलियामा धातु कारखानामा विस्फोट, ६ को मृत्यु, ४ अन्य बेपत्ता

बेइजिङ, २० जनवरी । चीनको उत्तरी इनर मङ्गोलिया स्वायत्त क्षेत्रमा आईतवार भएको धातु कारखानाको विस्फोटमा सोमबारसम्म ६ जनाको मृत्यु भएको र ४ जना अझै हराएको आपतकालीन बचाउ टोलीले जनाएको छ।
बाओटोउ शहरको पश्चिमी भागमा अवस्थित बाओगाङ युनाइटेड स्टिलको प्लेट प्लान्टमा भएको विस्फोटपछि बचाउ तथा खोजी कार्य जारी छ। घटनास्थलको आपतकालीन बचाउ मुख्यालयले विस्फोट आईतवार दिउँसो ३ बजेर ३ मिनेटमा ६५० घन मिटर क्षमताको स्याचुरेटेड पानी र स्टिमको गोलाकार ट्याङ्कबाट सुरु भएको बताएको छ।
यस घटनामा ८४ जना घाइते भएर अस्पतालमा उपचाराधीन रहेको पहिलो रिपोर्टमा उल्लेख थियो। घाइतेहरूको उपचार र अवस्थामाथि निगरानी राखिएको छ।
दुर्घटनाको कारण तथा जिम्मेवारी निर्धारणको लागि राज्य परिषदको अन्तर्गत रहेको कार्य सुरक्षा आयोगले अनुसन्धान सुरु गरेको छ। कारखाना परिसरमा सुरक्षा उल्लंघन वा प्रविधिगत कमजोरी रहेको छ कि भन्ने कुरा अनुसन्धानको केन्द्रविन्दु हुने बताइएको छ।





