डा. बाबुराम भट्टराईको घोषणा : गोरखा–२ बाट उम्मेदवारी, पाँच लक्ष्य सार्वजनिक

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने घोषणा गर्दै त्यसका पाँच प्रमुख लक्ष्य र आधार सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राष्ट्रिय राजनीति, संविधान, अर्थतन्त्र र गोरखाको विकाससँग जोडिएका विषयलाई उम्मेदवारीको मूल आधार बनाएका हुन्।

भट्टराईका अनुसार बदलिँदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करको जोखिमबीच नेपाललाई सुरक्षित राख्नु आजको प्रमुख चुनौती हो। उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा प्रतिनिधिसभाबाट प्रभावकारी योगदान गर्ने पहिलो लक्ष्य रहेको उल्लेख गरेका छन्।

त्यसैगरी, देशमा नयाँ र पुराना राजनीतिक दलहरूबीच तथा दलभित्र बढ्दो द्वन्द्व र असमझदारीका कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्न सक्ने अवस्था देखिएको भन्दै भट्टराईले समन्वयकारी र अभिभावकीय भूमिकामार्फत लोकतन्त्रको रक्षा गर्ने आफ्नो दोस्रो उद्देश्य रहेको बताएका छन्।

तेस्रो लक्ष्यका रूपमा उनले जेन–जी विद्रोहको पृष्ठभूमि र संविधानसभाबाट संविधान निर्माण भएको दश वर्ष पूरा भएको सन्दर्भ उल्लेख गरेका छन्। संविधानका प्रमुख निर्माणकर्ता मध्ये एक भएको हैसियतले आवश्यक संशोधन र सुधारका लागि प्रतिनिधिसभाबाट सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

चौथो लक्ष्य सुशासन र आर्थिक समृद्धिसँग जोडिएको छ। अर्थ–राजनीतिको ज्ञान र अनुभवका आधारमा देशको तीव्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि स्पष्ट मार्गचित्र र कार्ययोजना निर्माण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने भट्टराईको प्रतिबद्धता छ।

पाँचौँ र अन्तिम लक्ष्य गोरखाको विकाससँग सम्बन्धित छ। विगतमा गोरखामा गरिएका रूपान्तरणकारी विकास निर्माणका कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई आधुनिक र समतामूलक आर्थिक विकासको नमुना जिल्ला बनाउने उनको योजना रहेको उनले उल्लेख गरेका छन्।

भट्टराईको उम्मेदवारी घोषणासँगै गोरखा–२ को राजनीतिक माहोल तातिएको छ भने उनको एजेन्डाले राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button