अध्यक्ष ओली: ‘देशमा आगाे लगाउने तत्वहरूले जनतामा भ्रम फैलाउन खाेजिरहेका छन्’

झापा, जनवरी २० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आगो लगाउन खोज्ने तत्वहरूले नै जनतामाझ भ्रम फैलाउन खोजिरहेको आरोप लगाएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफ्नो यस्तो धारणा राखेका हुन्। उनले भने, ‘केही समूह देशमा अस्थिरता सिर्जना गर्न सक्रिय छन्। अहिले देशमा आगो लगाउन खोज्नेहरू छन्। तिनैले जनतामा भ्रम छर्न खोजिरहेका छन्।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको सरकारद्वारा संरक्षित दल भएको दाबी गर्दै विपक्षी तत्वहरूको रणनीति प्रति सचेत गराए। उनका अनुसार त्यस्ता तत्वले नयाँ पुस्तामा भ्रम फैलाएकाले देशलाई जोगाउन अनुभवी नेतृत्व आवश्यक छ। मुलुकलाई अस्थिरताबाट बचाउन जनताले सचेत भएर मतदानमा निर्णय गर्नुपर्ने उनले बताए।
अध्यक्ष ओलीको यो टिप्पणी त्यसअघि रास्वपा र एमालेका केही युवाकार्यकर्ताबीच झापामा भएको धकेलाधकेलको घटनापछि आएको हो। उक्त घटनाबारे उनले एमालेलाई नजिस्काउन र नबिच्काउनु आग्रह गरे। अन्यथा महँगो पर्ने चेतावनी दिएका छन्। उनले यो घटना अस्थिरता सिर्जना गर्ने तत्वहरूको सुनियोजित प्रयासको अंश हो भन्ने इशारा गरे।
ओलीको यस भनाइले आगामी निर्वाचनलाई लक्षित गरेर सञ्चारमा भ्रम फैलाउने र राजनीतिक हिंसा उत्प्रेरित गर्ने प्रयास विरुद्ध स्पष्ट चेतावनी समावेश छ। उनले देशको स्थिरता र सुरक्षाका लागि अनुभवी र दृढ नेतृत्व नै एकमात्र विकल्प हो भन्ने सन्देश दिँदै जनतालाई सावधान रहन आह्वान गरेका छन्।





