जुम्लामा प्रतिनिधिसभा चुनाव रोचक मोडमा
विनिता कठायत र ज्ञानेन्द्र शाहीबीच प्रत्यक्ष भिडन्त

जुम्ला । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जुम्ला निर्वाचन क्षेत्रको प्रतिस्पर्धा अत्यन्तै रोचक र चर्चित हुने संकेत देखिएको छ। सामाजिक सञ्जालमा एकअर्काविरुद्ध तीखाे टिप्पणी र आलोचनामा उत्रँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही यस पटक प्रत्यक्ष रूपमा आमनेसामने हुन लागेका छन्।
२०७९ सालको निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेकी विनिता कठायत पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन्। सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति र निरन्तर चर्चामा रहने उनी पछिल्लो समय ‘पैसा नहुने मान्छे राजनीतिमा नआए हुन्छ’ भन्ने अभिव्यक्तिका कारण चर्को आलोचनाको केन्द्रमा छिन्। यसले उनको लोकप्रियता र राजनीतिक यात्रामा चुनौती थपिएको विश्लेषण गरिँदैछ।
उता, राप्रपाका नेता ज्ञानेन्द्र शाही भने दोस्रो पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका हुन्। २०७९ कै निर्वाचनमा उनले नेपाली कांग्रेससँग गठबन्धन गर्दै २२ हजार ८ सय १९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर यस पटकको चुनावमा उनलाई अघिल्लोपटकजस्तो सहज जित निकाल्न कठिन हुने संकेत देखिएको छ।
जुम्लामा बहुदलीय प्रतिस्पर्धा थप चर्किएको छ। आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले दीपबहादुर शाही, नेकपाले नरेश भण्डारी तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मनऋषि धिताललाई उम्मेदवार बनाएका छन्। आज मनोनयन दर्ता गराएका प्रलोपाका उम्मेदवार धितालबाहेक अन्य सबै उम्मेदवार ‘टेस्टेड’ अर्थात् पहिलेदेखि नै निर्वाचनमा होमिँदै आएका अनुभवी नेता हुन्।
यसरी नयाँ र पुराना राजनीतिक अनुहारबीचको प्रतिस्पर्धाले जुम्लाको चुनावी मैदानलाई थप चासो र बहसको केन्द्र बनाएको छ। मतदाताले कसलाई विश्वास र नेतृत्वको जिम्मा दिन्छन् भन्ने प्रश्नले जुम्लाको राजनीतिक भविष्य निर्णायक मोडमा पुगेको देखिन्छ।





