रुकुम पूर्वमा प्रचण्डको पक्षमा दलगत एकता, एमालेसहितका नेताद्वारा सानदार जितको आह्वान

रुकुम पूर्व । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिताउन नेकपा एमालेसहित विभिन्न दलका स्थानीय नेताहरू एकजुट भएका छन्।

नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष टोपबहादुर ओली, २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका नरहरि खड्का, एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन, भूमे–१ का ताराप्रसाद पुन, पुथा उत्तरगंगा–१ का अमृतधन पुन, सिस्ने–५ का पूर्णबहादुर बुढाथोकीलगायत नेताहरूले संयुक्त रूपमा प्रचण्डको पक्षमा समर्थन जनाउँदै निर्वाचनमा सक्रिय भएर लाग्न आह्वान गरेका हुन्।

नेताहरूले प्रचण्डलाई अग्रिम शुभकामनासमेत दिँदै जारी गरेको अपिलमा रुकुम पूर्वबाट उम्मेदवार बनेकोमा स्वागत गर्दै सानदार विजयको कामना गरिएको छ। अपिलमा जिल्लाको विकास र समृद्धिका लागि विशेष ध्यान दिन, दुर्गमताका कारण पछाडि परेका जनताको जीवनस्तरमा ठोस परिवर्तन महसुस हुने गरी ज्यान लगाएर बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ।

संयुक्त अपिलमा निर्वाचित भएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्ने सात बुँदे मागसमेत प्रस्तुत गरिएको छ। ती मागमध्ये राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको शहीद मार्ग होलेरी–धर्तीगाउँ–थवाङ सडकलाई यथावत राख्दै स्तरोन्नतिका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने, कोकी तकसेरा हुकाम मैकोट डोल्पाको सहरतारा धो तिन्जे हुँदै चीनसम्म पुग्ने रणनीतिक सडक योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख छ।

त्यसैगरी देउखोला–जामाबगर–ढोरपाटन–म्याग्दी हुँदै मुस्ताङबाट चीनको सीमासम्म जोडिने सडक परियोजनाका लागि यथोचित बजेट व्यवस्था गर्नुपर्ने माग पनि अपिलमा समेटिएको छ।

स्थानीय नेताहरूको यो एकताबद्ध पहलले रुकुम पूर्वको निर्वाचन थप चासोपूर्ण बनेको छ भने विकास र पूर्वाधारलाई केन्द्रमा राखेर चुनावी माहोल तातिँदै गएको देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button