निर्वाचन तयारीका लागि भारतबाट पहिलो चरणको सहयोग हस्तान्तरण

काठमाडौं । आगामी निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाललाई उपलब्ध गराउने सहयोगअन्तर्गत पहिलो चरणको निर्वाचनसम्बन्धी सामग्री आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा भारतको काठमाडौंस्थित दूतावासका कार्यवाहक राजदूत (Charge d’Affaires a.i.) ले नेपालका माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

आज हस्तान्तरण गरिएको सहयोगमा ६० भन्दा बढी डबल–क्याब पिकअप सवारी साधन तथा अन्य आवश्यक सामग्री समावेश छन्। यी सवारी साधन र सामग्रीहरू नेपाल सरकारले निर्वाचन तयारीका लागि माग गरेको सहयोगको एक हिस्सा हुन्।

दूतावासका अनुसार निर्वाचन व्यवस्थापनलाई थप सुदृढ र प्रभावकारी बनाउन भारत सरकारले करिब ६५० वटा सवारी साधनसहितको सहयोग चरणबद्ध रूपमा उपलब्ध गराउनेछ। बाँकी सहयोग आगामी हप्ताहरूमा विभिन्न चरणमा हस्तान्तरण हुँदै जाने बताइएको छ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग तथा भारत सरकारबीचको सहकार्यको प्रतीकका रूपमा लिइएको यस सहयोगले निर्वाचनको सुरक्षात्मक, प्राविधिक र व्यवस्थापकीय पक्षलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध र लोकतान्त्रिक अभ्यासप्रतिको साझा प्रतिबद्धताको उदाहरणका रूपमा यस सहयोगलाई हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button