दाङ–१ मा कुलप्रसाद केसी सोनामको बागी उम्मेदवारी, चुनावी समीकरण थप पेचिलो

दाङ । नेपाली कम्युनिष्ट पार्टीका नेता कुलप्रसाद केसी ‘सोनाम’ले प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले आधिकारिक टिकट नदिएपछि उनले आज स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको जनाएका हुन्।

पार्टीले दाङ–१ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि केसी असन्तुष्ट बनेका थिए। सोही असन्तुष्टिको परिणामस्वरूप आएको केसीको बागी उम्मेदवारीले चौधरीका लागि चुनावी चुनौती थपिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका केसीको गृह जिल्ला रोल्पा भए पनि उनी बसाइँ सरेर दाङमा सक्रिय रहँदै आएका छन्। पछिल्लो समय पार्टीभित्र उल्लेख्य शक्ति सञ्चय गरेका केसीले स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएपछि दाङ–१ को चुनावी समीकरण थप जटिल बनेको छ।

अब दाङ–१ मा केसीले पार्टीका आधिकारिक उम्मेदवार मेटमणि चौधरीसँगै नेकपा एमालेका रेवतीरमण शर्मा, नेपाली कांग्रेसका योगेन्द्र चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकसँग कडा प्रतिस्पर्धा गर्नेछन्। यसले दाङ–१ लाई निर्वाचनको सबैभन्दा चासोपूर्ण क्षेत्रमध्ये एक बनाउने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button