कांग्रेस आधिकारिकता विवादमा अन्तरिम आदेश अस्वीकार, १५ दिनभित्र अन्तिम सुनुवाइ गर्ने सर्वोच्चको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयविरुद्ध दायर गरिएको रिटमा अदालतले तत्काल रोक लगाउन नपर्ने ठहर गरेको हो।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमेत दुई जनाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ भएको थियो।
इजलासले अन्तरिम आदेश जारी नगरे पनि मुद्दाको प्रकृति गम्भीर र संवैधानिक महत्त्वको रहेको भन्दै १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्ने गरी अग्राधिकार प्रदान गरेको छ। सर्वोच्चले जटिल र संवेदनशील कानुनी प्रश्न उठेकाले छिटो निरुपण आवश्यक रहेको निष्कर्ष निकालेको हो।
साथै अदालतले विपक्षी बनाइएका निर्वाचन आयोग, कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई लिखित कारण खुलाउँदै जवाफ पेश गर्न आदेश दिएको छ।
यस निर्णयसँगै कांग्रेसभित्रको आधिकारिकता विवाद तत्काल टुंगोमा नलागे पनि अब छोटो समयमै अदालतको अन्तिम फैसला आउने अपेक्षा गरिएको छ, जसले पार्टीको भावी नेतृत्व र राजनीतिक दिशामा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।






