दलभन्दा माथि राष्ट्रको प्रतीक: निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोगले उठाएको गम्भीर प्रश्न

सम्पादकीय

काठमाडौं — राष्ट्रिय झण्डा कुनै दल, व्यक्ति वा विचारधाराको सम्पत्ति होइन। यो नेपाल राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रता, बलिदान र राष्ट्रिय एकताको साझा प्रतीक हो। तर पछिल्ला निर्वाचनहरूमा केही राजनीतिक दल र उम्मेदवारहरूले राष्ट्रिय झण्डालाई प्रचार सामग्रीझैं प्रयोग गरेको दृश्यले देशभक्त नेपालीहरूलाई गहिरो पीडा र चिन्ता दिइरहेको छ।

राष्ट्रिय झण्डा शहीदहरूको रगत, इतिहासको संघर्ष  र जनताको साझा भावनासँग गाँसिएको चिन्ह हो। यसलाई पार्टीको झण्डा, चुनावी नाराबाजी वा शक्ति प्रदर्शनको साधन बनाउनु केवल अशोभनीय मात्र होइन, राष्ट्रिय भावनाको अपमान समेत हो। निर्वाचनका नाममा झण्डालाई जथाभावी बोकेर र्याली निकाल्ने, पार्टीका नारा र प्रतीकसँग मिसाएर प्रयोग गर्ने प्रवृत्तिले झण्डाको विशिष्टता र गरिमालाई कमजोर बनाउँदै लगेको अनुभूति धेरै देशभक्त नागरिकले गरिरहेका छन्।

संविधानले नै राष्ट्रिय झण्डालाई राज्यको सर्वोच्च प्रतीकका रूपमा मान्यता दिएको छ। संसारका धेरै लोकतान्त्रिक देशहरूमा राष्ट्रिय झण्डाको प्रयोग अत्यन्त अनुशासित र मर्यादित ढंगले गरिन्छ। अमेरिकामा चुनावी प्रचारमा राष्ट्रिय झण्डालाई पार्टीको प्रत्यक्ष प्रचारका रूपमा प्रयोग गर्न कडा नैतिक सीमाहरू छन् भने जापान, जर्मनी जस्ता देशमा झण्डाको अपमान वा दुरुपयोग कानुनी कारबाहीको विषय बन्छ। त्यही राष्ट्रवादी चेतनाको कमी नेपालमा देखिन थालेको भन्दै सरोकारवालाहरू चिन्ता व्यक्त गर्छन्।

राजनीतिक दलहरू राष्ट्रको सेवाका लागि बनेका संरचना हुन्, तर राष्ट्र स्वयं होइनन्। दल परिवर्तन हुन सक्छन्, सत्ता आउजाउ गर्छ, तर राष्ट्र र त्यसका प्रतीक स्थायी हुन्छन्। त्यसैले राष्ट्रिय झण्डालाई दलगत प्रतिस्पर्धामा तानेर प्रयोग गर्नु राष्ट्रभन्दा दललाई माथि राख्ने मानसिकताको संकेतका रूपमा हेरिएको छ।

यस सन्दर्भमा निर्वाचन आयोगको भूमिकामाथि पनि गम्भीर प्रश्न उठेका छन्। निर्वाचन आचारसंहिता लागू हुने समयमै यस्ता दृश्य खुलेआम देखिँदा पनि आयोग मौन बसेको आरोप लाग्दै आएको छ। देशभक्त नागरिकहरू सोधिरहेका छन्;यो देशमा निर्वाचन आयोग छ कि छैन? यदि छ भने उसले यस्ता दृश्य किन देख्दैन? कि देखेर पनि नदेखेजस्तो गरिरहेको छ?

निर्वाचन आचारसंहिताको मूल उद्देश्य स्वतन्त्र, निष्पक्ष र मर्यादित चुनाव सुनिश्चित गर्नु हो। राष्ट्रिय प्रतीकको दुरुपयोग रोक्नु पनि त्यही मर्यादाको हिस्सा हो। यदि समयमै कडाइ गरिएन भने भोलि अन्य राष्ट्रिय प्रतीक राष्ट्रगान, राष्ट्रिय चिह्न, शहीदका नाम समेत राजनीतिक लाभका लागि प्रयोग हुन नदिइएला भन्ने ग्यारेन्टी रहँदैन।

विश्लेषकहरूका अनुसार यो विषय कुनै दलविरोधी वा दलविशेष लक्षित बहस होइन, बरु राष्ट्रप्रेम र नागरिक चेतनासँग जोडिएको सवाल हो। झण्डालाई सम्मान गर्नु भनेको कुनै सरकार वा पार्टीलाई समर्थन गर्नु होइन, राष्ट्रलाई सम्मान गर्नु हो। यही चेतना राजनीतिक नेतृत्वदेखि आम नागरिकसम्म पुग्न आवश्यक छ।

नागरिक समाज र पूर्व राष्ट्रसेवकहरूले निर्वाचन आयोगलाई तत्काल स्पष्ट निर्देशन जारी गर्न, राष्ट्रिय झण्डाको दलगत प्रयोगमाथि रोक लगाउन र आचारसंहिता उल्लंघन गर्ने दल वा उम्मेदवारलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार कडाइ अहिले नगरे भविष्यमा राष्ट्रका प्रतीकहरू केवल चुनावी सजावटमा सीमित हुने खतरा बढ्नेछ।

राष्ट्रिय झण्डा भावनाको विषय हो, राजनीति गर्ने औजार होइन। दलभन्दा माथि राष्ट्र, व्यक्तिभन्दा माथि राष्ट्रिय मूल्य, यही सिद्धान्तलाई व्यवहारमा उतार्न नसके लोकतन्त्रको मर्म नै कमजोर हुने चेतावनी सरोकारवालाहरूले दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button