क्यानडाले गर्याे सय वर्षमा पहिलोपटक अमेरिकी आक्रमणको युद्ध अभ्यास

बेइजिङ/ओटावा। सय वर्षमा पहिलोपटक क्यानडाली सशस्त्र बलहरूले अमेरिकाको क्यानडा विरुद्धको सम्भावित सैन्य आक्रमणको परिकल्पना गरी यसको प्रतिकारका उपायहरूको युद्ध खेल (वार गेम) गरेको एक क्यानडाली मिडिया रिपोर्टले खुलासा गरेको छ। चिनियाँ विश्लेषकका अनुसार, यस कदमले अमेरिकाको क्षेत्रीय दाबी बीच दुई पुरानो सहयोगी बीच बढ्दो दरार र क्यानडाको संकटको अनुभूति झल्काउँदै, अमेरिकी दबावमा सजिलै नझुक्ने तयारीको संकेत समेत दिएको छ।
क्यानडाली दैनिक ‘द ग्लोब एन्ड मेल’ ले मङ्गलबार दुई वरिष्ठ सरकारी अधिकारीको उद्धरण दिँदै रिपोर्ट गरेको छ कि क्यानडाले अमेरिकी आक्रमणको प्रतिकारका लागि अफगानिस्तानमा रुस र पछि अमेरिकी नेतृत्वमा सहयोगी सेनाविरुद्ध प्रयोग गरिएका युद्ध रणनीतिहरू जस्तै गुरिल्ला युद्धका उपायहरूको अभ्यास गरेको छ।
रिपोर्ट अनुसार, सैन्य योजनाकारहरूले दक्षिणबाट हुने अमेरिकी आक्रमणको मोडेल बनाएका छन्, जसमा अमेरिकी सेनाले क्यानडाको जमीन र समुद्रका रणनीतिक ठाउँहरू एक हप्ता भित्र, र सम्भवतः दुई दिनमै नै कब्जा गर्ने अपेक्षा गरिएको छ। अधिकारीहरूको भनाइ छ, पारम्परिक युद्धमा क्यानडासँग अमेरिकी आक्रमण झेल्न पर्याप्त सैन्य शक्ति वा आधुनिक हतियार छैनन्। त्यसैले सेनाले ‘असममित्रिक युद्ध’ (Asymmetric Warfare) को परिकल्पना गरेको छ, जसमा साना समूहहरूले घात लगाउने, तोडफोड गर्ने, ड्रोन प्रहरी गर्ने वा हिट-एन्ड-रन (प्रहार गरेर भाग्ने) रणनीति अवलम्बन गर्नेछन्।
एक अधिकारीले बताए अनुसार, यस मोडेलमा १९७९-८९ को सोभियत-अफगान युद्धमा अफगान मुजाहिदीनले रुसी सैनिकविरुद्ध प्रयोग गरेको हिट-एन्ड-रन रणनीति समावेश छ। टालिबानले पनि २० वर्षसम्म अमेरिका र सहयोगी सेनाविरुद्ध (जसमा क्यानडा पनि थियो) यही रणनीति प्रयोग गरेको थियो। यस्ता उपायको लक्ष्य अमेरिकी कब्जा सेनामा ठूलो मात्रामा हताहत बढाउनु हुनेछ।
अफगानिस्तानमा अमेरिकासँगै क्यानडाली सेना नेतृत्व गरेका सेवानिवृत्त मेजर-जनरल डेभिड फ्रेजरको भनाइ छ, क्यानडाले चालु रुस-युक्रेन युद्धमा प्रयोग भएजस्तै ड्रोन र ट्याङ्क-विरोधी आधुनिक हतियारहरू पनि प्रयोग गर्न सक्छ।
रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीको भनाइ छ, जमिन र समुद्रबाट हुने आक्रमणको लागि क्यानडासँग अधिकतम तीन महिनाको तयारीको समय हुन्छ। आक्रमण आदेश दिइसकेको पहिलो संकेत अमेरिकी सैन्य चेतावनीबाट आउनेछ कि अब क्यानडासँग ‘साझा आकाश नीति’ (shared skies policy) रहने छैन। यस संयुक्त रक्षा सम्झौतामा दरार पर्दा, आणविक हतियार भएको फ्रान्स वा बेलायतले क्यानडालाई अमेरिकाविरुद्ध सहयोग र सुरक्षा प्रदान गर्न सक्नेछन्।
रिपोर्टले यो पनि उल्लेख गरेको छ कि अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने आह्वान गर्दै नाटो सहयोगीहरूलाई चुनौती दिइरहेका छन्, र ट्रम्पले क्यानडा अमेरिकाको ५१औँ राज्य बन्नुपर्ने बारेमा पनि बारम्बार कुरा गरेका छन्।
तथापि, अधिकारीहरू र धेरै विशेषज्ञहरूको भनाइ छ, ट्रम्प प्रशासनले क्यानडा माथि आक्रमण गर्न आदेश दिने सम्भावना न्यून छ।
चिनियाँ सैन्य मामिला विशेषज्ञ झाङ जुनशेले ग्लोबल टाइम्सलाई भने, “रिपोर्टले संकेत गरेजस्तै, प्रत्यक्ष टकरावमा क्यानडाली सेना अमेरिकी सेनाको बराबरीमा छैन। दुई देशको जमिन, नौसेना र वायुसेनाको क्षमता तुलनात्मक हुन्न, क्यानडाले लामो समयदेखि राष्ट्रिय सुरक्षाको लागि अमेरिकामा निर्भर रहेको कुरा त छँदै छ।”
उनले भने, “रिपोर्टमा उल्लेखित सम्भावित क्यानडाली जवाफी कारबाही ‘असममित्रिक युद्ध’ को एक रूप हो। क्यानडा विशाल क्षेत्र भएको देश हो, र यसको सेना अफगानिस्तानभन्दा बलियो हुनुपर्छ, त्यसैले यसले अमेरिकालाई उच्च स्तरको चुनौती दिन सक्छ।”
झाङको विश्लेषण छ, “ग्रिनल्याण्ड र आफ्नै देशमाथि अमेरिकाको क्षेत्रीय दाबीको पृष्ठभूमिमा, क्यानडाली सेनाले अमेरिकी आक्रमणको यो परिकल्पनात्मक अभ्यास गरेकोले एक बलियो सन्देश दिएको छ। यसले क्यानडाको संकटको भावना झल्काउँछ र अमेरिकालाई देखाउँछ कि क्यानडा अमेरिकी दबावमा सजिलै झुक्नेछैन। यो क्यानडाली अधिकारीहरूले डर प्रदर्शन (डिटरेन्स) सिर्जना गर्ने प्रयास पनि हुनसक्छ।”
“कम्तिमा पनि, यसले दुई पुरानो सहयोगी बीच ठूलो फाटो आएको संकेत दिँदैछ,” झाङले जोड दिए।





