फिलिपिनी विमानद्वारा चीनियाँ टापूमा अतिक्रमण, चिनियाँ सेनाले चेतावनी दिंदै धपायाे

बेइजिङ । फिलिपिन्सको एक सरकारी विमानले मङ्गलबार चीनको हुआंगयान टापू (स्कार्बोरो शोल) माथिको क्षेत्रीय वायुसीमामा बिना अनुमति अतिक्रमण गरेको छ। चीनको जन मुक्ति सेना (पिएलए) दक्षिणी थिएटर कमानले विमानलाई कानून अनुसार चेतावनी दिई धपाएको छ।
दक्षिणी थिएटर कमानका प्रवक्ता एयर फोर्स सिनियर कर्नल तियान जुनलीले मङ्गलबार राती यस घटनाको पुष्टि गर्दै बताए कि थिएटर कमानबाट तैनाथ गरिएको नौसेना र वायुसेनाको टुकडीले कानून र नियमावली अनुसार विमानलाई चेतावनी दिई बाहिर धपाएको हो।
प्रवक्ता तियानले जोड दिएर भने, “फिलिपिन्सको यो कार्यले चीनको संप्रभुतामा गम्भीर चोट पुर्याएको छ र चिनियाँ कानून र अन्तर्राष्ट्रिय कानूनका सम्बन्धित व्यवस्थाहरूको पनि उल्लंघन भएको छ। हुआंगयान टापू चीनको अभिन्न भूभाग हो। हामी फिलिपिन्स पक्षलाई चीनको अधिकारमा अतिक्रमण गर्ने, उक्साउने कार्य र दायित्वविहीन प्रचार तत्काल रोक्न आग्रह गर्दछौं।”
चीनले यस घटनालाई आफ्नो क्षेत्रीय अखण्डता र संप्रभुताको विरुद्धको स्पष्ट उल्लंघनको रूपमा लिएको छ। यस कारबाहीले दक्षिण चीन सागर क्षेत्रमा चीनको कडा रवैया र आफ्नो दावी कायम राख्ने दृढताको सन्देश दिएको छ। फिलिपिन्ससँगको यो ताजा तनावले क्षेत्रमा भू-राजनैतिक स्पर्धा बढ्दो रहेको संकेत गर्दछ।





