झापा–५ मा ओलीको सक्रियता तीव्र, युवासँग प्रत्यक्ष संवादमा जोड

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा राजनीतिक सक्रियता बढाउँदै मतदातासँगको भेटघाटलाई बाक्लो बनाएका छन्। पछिल्लो समय विशेष गरी युवाहरुसँग प्रत्यक्ष संवादमा जोड दिँदै ओली दमक र आसपासका क्षेत्रमा निरन्तर उपस्थित देखिएका छन्।

जेन–जी आन्दोलनपछि पहिलोपटक दमक पुगेका ओलीले स्थानीय नागरिक, युवा र पार्टी कार्यकर्तासँग छलफल गर्दै आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिएका छन्। उनले विगतमा सुरु गरिएका पूर्वाधार, औद्योगिक विकास र रोजगारी सिर्जनासँग सम्बन्धित योजनाहरूको अवस्था के कस्तो छ भन्ने विषयमा जनप्रतिनिधिसँग समेत समीक्षा गरेका छन्।

ओलीले भेटघाटका क्रममा झापा–५ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने आफ्नो अडान दोहोर्‍याउँदै युवाको ऊर्जा, विचार र सहभागनाबिना दिगो परिवर्तन सम्भव नहुने बताएका छन्। उनले राजनीति युवापुस्ताबाट टाढा होइन, उनीहरूको सपना र भविष्यसँग जोडिनुपर्छ भन्ने धारणा राखेका छन्।

यसैबीच, झापा–५ सँग सिमाना जोडिएको इलाम–२ का नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङ पनि दमक पुगेका छन्। नेम्वाङ र ओलीबीच आगामी निर्वाचन, क्षेत्रीय विकास र संगठनात्मक रणनीतिबारे छलफल भएको बुझिएको छ। एमाले नेतृत्वको यो संयुक्त सक्रियताले पूर्वी नेपालमा पार्टीको चुनावी माहोल थप तातेको संकेत गरेको छ।

स्थानीयस्तरमा ओलीको लगातारको उपस्थितिलाई आगामी निर्वाचनलाई लक्षित सन्देशका रूपमा हेरिएको छ। मतदातासँग प्रत्यक्ष संवाद, विकासका उपलब्धि र भविष्यका योजना प्रस्तुत गर्दै ओलीले झापा–५ मा आफ्नो राजनीतिक पकड अझ बलियो बनाउने प्रयास गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button