झापामा बालेनलाई विगतले पछ्यायो : भदौ २४ को विध्वंशदेखि अव्यवस्थित राजनीतिसम्म, चुनावी बाटो झन कठिन

झापा / पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रन झापा पुगेका काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहलाई उनका विगतका गतिविधि, कार्यशैली र विवादहरूले गम्भीर रूपमा घेराबन्दी गर्न थालेका छन्। विशेषतः भदौ २४ गते भएको देशव्यापी विध्वंशमा उनको संलग्नताबारे पुनः प्रश्न उठ्न थालेपछि उनका लागि यो चुनाव सामान्य प्रतिस्पर्धा होइन, विश्वासको परीक्षा बन्ने देखिएको छ।
दुई वर्षअघि सिंहदरबार जलाइदिने धम्की दिएको अभिव्यक्तिदेखि लिएर भदौ २४ गते ‘देश डढाउने’ हिंसात्मक गतिविधिमा संलग्न समूहलाई उक्साएको आरोपसम्म बालेनमाथि निरन्तर प्रश्न उठ्दै आएका छन्। ‘जेन–जी आन्दोलन’ को नाममा भएको उक्त हिंसात्मक घटनामा उनको प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि अप्रत्यक्ष भूमिका रहेको आशंका व्यापक छ। तर सामाजिक सञ्जालको लोकप्रियता र भीडको आडमा यस्ता गम्भीर प्रश्नलाई सधैं पन्छाउँदै आएका बालेनले अहिलेसम्म एकपटक पनि सार्वजनिक रूपमा स्पष्ट जवाफ दिन सकेका छैनन्।
‘पूर्व प्रधानमन्त्रीलाई हराउनुको बेग्लै मज्जा’ भन्दै चुनावमा होमिएका बालेनका लागि यही अभिव्यक्ति अहिले भारी पर्ने संकेत देखिएको छ। उम्मेदवारी मनोनयनको भोलिपल्टै दमक नगरपालिकाका मेयर राम थापाले भदौ २४ को विध्वंशसँग जोडेर बालेनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्, जसले यो मुद्दालाई झापाको स्थानीय राजनीतिक बहसको केन्द्रमा ल्याइदिएको छ।
भदौ २४ गते काठमाडौँ मात्र होइन, दमकमा पनि सरकारी संरचना, राजनीतिक दलका कार्यालय, निजी घर तथा व्यावसायिक प्रतिष्ठानमाथि तोडफोड र आगजनी भएको थियो। सोही दिन आपराधिक समूहले दमक नगरपालिका, वडा कार्यालय र मेयर राम थापाको निजी घरसमेत जलाएको थियो। यही विध्वंशमा संलग्न व्यक्तिहरू अहिले बालेन साहको चुनावी अभियानमा खुलेआम जोडिएको मेयर थापाले सार्वजनिक रूपमा दाबी गरेका छन्।
महोत्तरीलाई पुर्ख्यौली घर बताउने र काठमाडौँमा जन्मिएका बालेनले चुनाव प्रचारका लागि दमक क्षेत्रमा चार वटा घर भाडामा लिएको खुलेको छ। ती घर भाडामा दिनेहरू नै भदौ २४ का विध्वंशकारी भएको दाबी गर्दै मेयर थापाले भनेका छन्, ‘जसले मेरो घर जलाए, आज तिनैले बालेनलाई कार्यालय राख्न दिएका छन्। अनि अहिले उल्टै समाजमा भ्रम फैलाइरहेका छन्।’ यो अभिव्यक्तिले बालेनको चुनावी अभियान नै शंकाको घेरामा परेको टिप्पणी स्थानीय स्तरमा सुरु भएको छ।
दमकका स्थापित राप्रपा नेता तथा लोकप्रिय मेयर राम थापाको यो दाबीले बालेनलाई रक्षात्मक अवस्थामा पुर्याउने देखिएको छ। अघिल्लो स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनविरुद्ध एक्लै उत्रिएर केपी ओलीकै काका नाता पर्ने पूर्वमेयर रोम ओलीलाई पराजित गरेका थापा यस क्षेत्रमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। आम निर्वाचनमा समेत व्यक्तिगत प्रभाव पार्न सक्ने उनको भनाइले बालेनलाई राजनीतिक रूपमा नोक्सान पुर्याउने स्थानीयहरूको आकलन छ।
यसैबीच, ‘फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भनेझैँ बालेनको उम्मेदवारी मनोनयन दिनको व्यवहारले पनि उनको छविलाई धक्का दिएको छ। जुलुशसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेनले बाहिर धक्कामुक्कीमा संलग्न भएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमै तीव्र आलोचना सुरु भएको छ। भावी प्रधानमन्त्रीको दाबी गर्ने व्यक्तिबाट यस्तो उरन्ठेउलो र अराजक व्यवहार अपेक्षित नभएको भन्दै स्थानीय बुद्धिजीवी र सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।
बालेन मात्र होइन, उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि राजनीतिक परिपक्वता देखाउन नसकेको आरोप लागेको छ। उम्मेदवारी मनोनयनका क्रममा अर्को पार्टी र नेताविरुद्ध नाराबाजी गर्नु निर्वाचन आचारसंहिताविपरीत मानिन्छ। तर बालेनका समर्थकहरूले निर्वाचन अधिकृतको कार्यालय बाहिरै एमाले उम्मेदवार ओलीविरुद्ध नाराबाजी गरे, जसका कारण दमक बजारमा केहीबेर तनाव र झडपको अवस्था सिर्जना भयो।
बालेनको पक्षमा ‘जनलहर उर्लिएको’ दाबी गरिए पनि हिजोको भाैगोलिक यथार्थ त्यसअनुसार देखिएन। युवापंक्तिमा उनको क्रेज नदेखिएको होइन, तर जुलुशमा देखिएका अधिकांश अनुहार स्थानीयभन्दा बाहिरका थिए। काठमाडौँबाट गएका युट्युबरदेखि विराटनगर, जनकपुर र मधेश प्रदेशका विभिन्न जिल्लाबाट ल्याइएका युवाहरूको संख्या उल्लेख्य थियो। कतिपय स्थानीय भने केवल बालेनलाई हेर्न जुलुशमा मिसिएको बताइन्छ।
यी सबै घटनाक्रमलाई समेट्दै झापाका एक राजनीतिक विश्लेषक भन्छन्, ‘हिजोको भीड हेरेर चुनावी परिणाम अनुमान गर्न मिल्दैन। एक हप्ताभित्र वास्तविक तस्वीर स्पष्ट हुन्छ।’
यसरी, झापामा बालेन साहको चुनावी यात्रा उत्साहभन्दा बढी विवाद, प्रश्न र अविश्वासले भरिँदै गएको देखिन्छ। सामाजिक सञ्जालको लोकप्रियता र बाहिरी भीडले मात्र स्थानीय मतदाताको भरोसा जित्न नसक्ने संकेत प्रारम्भिक चरणमै देखिन थालेको छ।





