सुमन मल्लको पक्षमा जनमत सुदृढ हुँदै

बाँके / बाँके क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार सुमन मल्लले आफू जन्मिएको, हुर्किएको र कर्मथलो यही माटो भएको दाबी गर्दै स्थानीय मतदातासँग भावनात्मक अपिल गरेका छन्। “म यही धुलो माटोमा जन्मेँ, हुर्केँ र खेलेको मान्छे हुँ। मैले मेरो क्षेत्रलाई राम्रोसँग चिनेको छु,” मल्लको भनाइले चुनावी माहोलमा ‘स्थानीय उम्मेदवार बनाम बाहिरिया राजनीति’को बहसलाई थप चर्काएको छ।

मल्लको उम्मेदवारीसँगै एमाले कार्यकर्ता माँझ उत्साह बढेको देखिन्छ। जानकी क्षेत्रमा अगुवा कार्यकर्तासँग भेटघाट गर्दै आजदेखि औपचारिक रूपमा जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम सुरु गरिएको छ। कार्यकर्ता र समर्थकहरूका अनुसार घरदैलो अभियानमा स्थानीय मुद्दा, विकास र स्थायित्व मुख्य एजेन्डा बनेका छन्।

युवा तहमा समेत सुमन मल्लको समर्थन मुखर देखिन थालेको छ। नेकपा एमालेका युवा नेता सतिश निरौलाले कविता मार्फत मल्लको पक्षमा जनभावना व्यक्त गरेका छन्। कवितामा ‘ढुङ्गा, माटो, हावा र पानी’ नै बोल्ने भन्दै गाउँघरका मतदाताले आफ्नो गाउँकै प्रतिनिधि छान्ने संकेत गरिएको छ। “प्रतिनिधि आफ्नो गाउँको, आफ्नै ठाउँको चुन्छ” भन्ने पंक्तिले स्थानीय नेतृत्वप्रतिको भरोसा झल्काउँछ। विकासका आधारशिला गाउँकै छोरा सुमन मल्ल हुने दाबी कविताको मूल सन्देश बनेको छ।

यही धारणा युवा नेता किशोर थापाको अभिव्यक्तिमा पनि प्रतिध्वनित हुन्छ। उनका अनुसार बाँके–३ मा अन्य दलले धेरै आशा गर्नु आवश्यक छैन, किनकि सुमन मल्लको जित लगभग सुनिश्चित देखिन्छ। स्थानीय स्तरमा रहेको पकड, संगठन र जनसम्पर्क नै यसको आधार भएको उनको तर्क छ।

स्थानीय युवाहरूले चुनावलाई केवल दलगत प्रतिस्पर्धा मात्र नभई विचार र चेतनाको लडाइँका रूपमा हेर्न थालेका छन्। युवा शुशील मल्ल ठकुरी लेख्छन्: देश भौगोलिक रूपमा कब्जा नभए पनि मानसिक रूपमा बाँधिएको छ। राज्य मौन, कानुन कमजोर र नीति निर्माता डिजिटल यथार्थलाई हल्का रूपमा बुझिरहेका बेला सामाजिक सञ्जाल नै वास्तविक रणभूमि बनेको उनको विश्लेषण छ। नयाँ शक्तिको उदयलाई राजनीतिक पुनर्जागरणको उत्सवका रूपमा व्याख्या गरिँदै आए पनि त्यो स्वतःस्फूर्त हो कि नियन्त्रित, वा केवल डिजिटल एल्गोरिदमको परिणाम हो भन्ने प्रश्न उनले उठाएका छन्। यही सन्दर्भमा उनले विचार, सिद्धान्त र विकासप्रेमलाई आधार मानेर बाँके–३ बाट सुमन मल्ललाई भारी मतले विजयी गराउन आह्वान गरेका छन्।

स्थानीय युवा क्षितिजको टिप्पणीले भने चुनावी बहसको अर्को पाटो देखाउँछ। उनका अनुसार पहिला एमाले, कांग्रेस वा माओवादीको समर्थन गर्नेहरूलाई ‘झोले’ भन्ने गरिए पनि अहिले सबैभन्दा बढी घण्टीका अन्धसमर्थन झाेले देखिएको छ। यो टिप्पणीले सामाजिक सञ्जाल केन्द्रित राजनीति र भावनात्मक उभारप्रति बढ्दो असन्तोषलाई संकेत गर्छ।

समग्रमा, बाँके क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। तर स्थानीयता, संगठन, विकासको एजेन्डा र कार्यकर्ताको सक्रियताले सुमन मल्लको उम्मेदवारी बलियो बन्दै गएको देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button