‘लमजुङको मुटु जहाँ भए पनि धड्कन यहीँ छ’: पृथ्वीसुब्बा गुरुङ

लमजुङ । रोजगारी, परिवारको भविष्य र सन्तानको सपना बोकेर सात समुद्रपारि पसिना बगाइरहेका लमजुङे दिदीबहिनी तथा दाजुभाइप्रति नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले भावनात्मक अपिल गरेका छन्। भौतिक रूपमा टाढा भए पनि लमजुङप्रतिको माया, चिन्ता र जिम्मेवारी उनीहरूको मुटुमा जिउँदै रहेको उल्लेख गर्दै गुरुङले विदेशबाटै जिल्लाको भविष्य निर्माणमा भूमिका खेल्न आग्रह गरेका हुन्।

“तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँबाट लमजुङका पाखा–पखेरा, दोर्दी, चेपे र मर्स्याङ्दीका किनार सम्झिरहनु भएको छ,” गुरुङको सन्देशमा भनिएको छ, “यहाँ घाम उदाउँदा तपाईंहरूको मन पनि यहीँ आइपुग्छ, चाडपर्व आउँदा लमजुङ नै सम्झनुहुन्छ।”

आफ्नो राजनीतिक यात्राको केन्द्र सधैं लमजुङ नै रहेको उल्लेख गर्दै गुरुङले गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्रीदेखि लमजुङको जनप्रतिनिधिसम्मको भूमिकामा ‘समृद्ध लमजुङ’लाई अर्जुनदृष्टि बनाएर काम गरेको दाबी गरेका छन्।

उनका अनुसार विगत र वर्तमान लमजुङबीचको फरक आज स्पष्ट देखिन थालेको छ। हिँड्नै गाह्रो हुने ठाउँमा मोटरबाटो पुगेका छन्, कालोपत्रे सडकको सञ्जाल विस्तार भएको छ। ‘स्मार्ट भिलेज’ अवधारणामार्फत घलेगाउँ, काउलेपानीजस्ता गाउँहरू अन्तर्राष्ट्रिय स्तरमा चिनिन थालेका छन्। विदेशी पाहुना गाउँ पुग्दा लमजुङेहरूको शिर गर्वले ठाडो हुने अवस्था सिर्जना भएको उनको भनाइ छ।

बिजुली नपुगेका दुर्गम बस्तीमा केन्द्रीय प्रसारण लाइन र लघु जलविद्युतमार्फत उज्यालो पुर्‍याउने काम, गण्डकी विश्वविद्यालयको स्थापना र लमजुङ अस्पतालको स्तरोन्नतिमा खेलेको भूमिकालाई उनले उपलब्धिका रूपमा उल्लेख गरेका छन्।

तर गुरुङले यसलाई अन्त्य नभई सुरुवातको चरण मात्र मानेका छन्। “अझै धेरै गर्न बाँकी छ,” उनले भनेका छन्, “अब मेरो सपना तपाईंहरूले रोजगारीका लागि विदेश जानु नपरोस् भन्ने हो। लमजुङमै रोजगारी सिर्जना होस्, विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्न पाइयोस्।”

विदेशमा रहेकाहरू भौतिक रूपमा उपस्थित नभए पनि उनीहरूको सामाजिक र पारिवारिक प्रभाव लमजुङमा ठूलो रहेको भन्दै गुरुङले एउटा फोनकल र सन्देशले पनि चुनावी माहोल बदल्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले परिवार, आफन्त र साथीभाइलाई सम्झाउँदै विकास, अनुभव र निरन्तरताको पक्षमा मत जाहेर गर्न आग्रह गरेका छन्।

“लमजुङको विकास रोकिनु हुँदैन,” उनको अपिलमा भनिएको छ, “सुख–दुःखमा साथ दिएको, अनुभवले खारिएको नेता पृथ्वीसुब्बा गुरुङ नै हो भन्ने सन्देश घरमा पुर्‍याइदिनुहोस्। यसपटक पनि हाम्रो भोट सूर्यमा होस्।”

आफूलाई दिएको विश्वास कहिल्यै तोड्न नदिने प्रतिबद्धता जनाउँदै गुरुङले लमजुङलाई देशकै नमुना जिल्ला बनाएर स्वदेश फर्किने दिनलाई गर्वलायक बनाउने जिम्मेवारी आफ्नो भएको बताएका छन्।

“जय लमजुङ!” भन्ने नारासहित उनको सन्देशले चुनावी अभियानमा भावनात्मक पक्षलाई थप बल दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button