राष्ट्रिय सुरक्षाको सन्दर्भमा प्रधानसेनापति जनरल अशोकराज सिग्देलको स्पष्ट चेतावनी

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको चेतावनी दिएका छन्। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आयोजित एक कार्यक्रममा उनी बोल्दै नेपालको राष्ट्रिय सुरक्षा, एकता र समृद्धिमा सेनाको भूमिका विषयक ऐतिहासिक भाषण दिए।
प्रधानसेनापति सिग्देलले बहुपक्षीय संस्था कमजोर हुँदै जाने र स्वार्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभावलाई राष्ट्रिय सुरक्षाको लागि ठूलो चुनौती बताए। उनले सूचना प्रविधिको व्यापक दुरूपयोग र साना राष्ट्रहरूको घट्दो निर्णय क्षमताले पनि सुरक्षा जोखिम थपेको उल्लेख गरे।
नेपालको विशेष सन्दर्भमा उनले देशको सामरिक भू-राजनीतिक अवस्थिति, तरल राजनीतिक वातावरण, बढ्दो वैदेशिक रोजगारीमा निर्भरता र घट्दो कृषि उत्पादनले आर्थिक तथा सामाजिक सुरक्षामा गम्भीर जटिलता सिर्जना गरेको बताए। यसलाई उनले “राष्ट्रको प्राणमा लागेको खतरा” भनेर बुझाउँदै अल्प, मध्य र दीर्घकालीन रणनीतिक दृष्टिकोणको अत्यावश्यकता रेखाङ्कित गरे।
“आजको विश्वमा राष्ट्रिय सुरक्षा भनेको केवल सैन्य शक्तिमा सीमित छैन,” उनले भने, “यो सुशासन, आर्थिक समृद्धि, मजबुत कूटनीति, सूचना प्रविधि र सबैभन्दा महत्वपूर्ण – देशभक्तिको भावनासँग गाँसिएको छ।”
प्रधानसेनापतिको यो बयानले नेपाली सेनाको दृष्टिकोण स्पष्ट गरेको छ: देशको अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने अडिग संकल्प। उनले नेपालको बहुसांस्कृतिक समाजमा एकता, सहिष्णुता र राष्ट्रिय अस्मिताको संरक्षणलाई सुरक्षाको आधारस्तम्भ बताए।
तर यही चुनौतीपूर्ण अवस्थामा महत्वपूर्ण प्रश्न उठ्छ: के नेपाली सेना आवश्यक परिवर्तन गर्न तयार छ? विश्लेषकहरूको मत अनुसार, नेपाली सेनाको दृष्टि र सम्बन्ध दक्षिण-पश्चिमतर्फ ढल्किएकाे छ। आजको भू-राजनीतिक परिवेशमा प्रमुख सुरक्षा खतरा नै दक्षिण-पश्चिमबाट छ, यस्तो गम्भीर अवस्थामा सेनाले पूर्व-उत्तरी दिशातर्फ पनि दृष्टि र सम्बन्ध राख्न साथै देशभक्ति नेपाली जनतासँगसँगै हातेमालो गरेर अगाडि बढ्नु जरुरी छ।
प्रश्न यो हो: के नेपाली सेनाले केवल शारीरिक सुरक्षामा मात्र केन्द्रित हुनेछ, वा सूचना युद्ध, आर्थिक सुरक्षा, सामाजिक एकता र देशभक्तिको भावना जगाउने जस्ता आधुनिक चुनौतीहरूसँग पनि सामना गर्न तयार छ? प्रधानसेनापतिको भाषणले सेनाको संकल्प त जाहेर गर्छ, तर अब कार्यान्वयनको पालो छ।
नेपाल आज एउटा नाजुक मोडमा छ। बाहिरी शक्तिहरूको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता र आर्थिक कमजोरीले देशको सुरक्षा झन जोखिमपूर्ण बनाएको छ। यस्तो अवस्थामा नेपाली सेनाको भूमिका केवल सीमा रक्षा गर्नु मात्र होइन, राष्ट्रिय एकता र देशभक्तिको चेतना जगाउनु पनि हो।
प्रधानसेनापति सिग्देलको यो चेतावनी सबै नेपालीहरूको लागि एउटा जागरण घण्टी हो। राष्ट्रिय सुरक्षा भनेको केवल सेनाको जिम्मेवारी होइन, हरेक देशभक्त नागरिकको कर्तव्य हो। अब समय आइसकेको छ कि हामी सबैले मिलेर नेपालको अखण्डता, सार्वभौमसत्ता र गौरवशाली परम्पराको रक्षाको लागि एकजुट हुनुपर्ने समय आइसकेको छ। सेनाको नेतृत्वमा, देशभक्त जनताको सहयोगमा, नयाँ नेपालको निर्माण गर्न सकिनेछ; एउटा सुरक्षित, समृद्ध र गर्विलो नेपाल।





