विकास र सुशासनलाई प्राथमिकता दिने सुमन मल्लकाे प्रतिबद्धता

बाँके — नेकपा (एमाले) का नेता सुमन मल्लले बाँके निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधित्व गर्न उम्मेदवारी घोषणा गरेका छन्। स्थानीय जनतासँगको आत्मीय सम्बन्ध, विश्वास र सहकार्यलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
बाँके–३ का आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्बोधन गर्दै उम्मेदवार मल्लले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास तथा युवाको भविष्य सुरक्षित बनाउने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्। उनले जनताको वास्तविक आवाजलाई संसदसम्म पुर्याउने, सुशासन कायम गर्ने र विकासका योजनालाई व्यवहारमा उतार्ने अठोट व्यक्त गरे।
“राजनीति केवल पद र प्रतिष्ठाको विषय होइन, जनताको सेवाको माध्यम हो,” भन्दै मल्लले बाँके–३ को समग्र विकासका लागि स्थानीय सरोकारवालाको सल्लाह, सुझाव र सहयोग अपरिहार्य हुने उल्लेख गरे। उनका अनुसार समृद्ध बाँके–३ निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव छ।
उम्मेदवार मल्लले आगामी निर्वाचनमा नेकपा (एमाले) को चुनाव चिह्न सूर्यमा मतदान गरी सेवा गर्ने अवसर दिन क्षेत्रवासीसँग हार्दिक अपिल गरेका छन्। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै, विश्वासको सम्मान गर्दै इमानदार र जवाफदेही प्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, सुमन मल्लको उम्मेदवारीले बाँके–३ को चुनावी प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ। विकास, सुशासन र युवाकेन्द्रित एजेन्डाका कारण उनको उम्मेदवारीप्रति मतदाताको ध्यान बढ्दै गएको देखिन्छ।





