सैन्य सिद्धान्तको आधुनिकीकरणतर्फ चीनको ठोस कदम, सी जिनपिङद्वारा नयाँ नियमावली जारी

बेइजिङ । चीनले आफ्नो सैन्य क्षमतालाई दीर्घकालीन र सैद्धान्तिक रूपमा सुदृढ बनाउने उद्देश्यसहित सैन्य सिद्धान्तसम्बन्धी कार्यका लागि नयाँ नियमावली लागू गर्ने तयारी गरेको छ। केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले सैन्य सिद्धान्तसम्बन्धी कार्यलाई व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउने लक्ष्यसहित तयार पारिएको नियमावली सार्वजनिक गर्न आदेश दिनुभएको हो।
आगामी मार्च १ देखि लागू हुने उक्त नियमावलीले सैन्य सिद्धान्तको आधुनिकीकरण तीव्र पार्ने, नवप्रवर्तनका लागि शीर्षस्तरीय संरचना (टप–लेभल डिजाइन)लाई अझ सुदृढ बनाउने तथा सैन्य सिद्धान्त अनुसन्धानको मोडेललाई परिष्कृत गर्ने विषयमा विशेष ध्यान केन्द्रित गरेको छ।
नियमावली मार्फत सैन्य सिद्धान्तसम्बन्धी कार्यको व्यवस्थापन प्रणालीलाई मानकीकरण गरिएको छ। यसमा सैन्य सिद्धान्त विकास रणनीति, दीर्घकालीन विकास योजना र वार्षिक योजनाको मुख्य सामग्री, तिनको संकलन तथा सार्वजनिक गर्ने प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरिएको छ। साथै, सैन्य सिद्धान्त सम्बन्धी उपलब्धिहरूको दर्ता र साझा प्रणाली, मूल्याङ्कन तथा मान्यता, प्रवर्द्धन र प्रयोग, साथै पछिल्लो समीक्षा (रेट्रोस्पेक्टिभ मूल्याङ्कन) का उपाय र मापदण्ड समेत स्पष्ट पारिएको छ।
सात अध्याय र ५२ वटा धाराहरू समेटिएको यस नियमावलीलाई चीनले भविष्यका सम्भावित सुरक्षा चुनौती सामना गर्न आवश्यक वैचारिक र सैद्धान्तिक आधार मजबुत बनाउने रणनीतिक दस्तावेजका रूपमा हेरिएको छ। सैन्य शक्ति मात्र होइन, त्यसको वैचारिक दिशानिर्देशनलाई पनि समान महत्व दिने चीनको दीर्घकालीन सैन्य दृष्टिकोण यसबाट झल्किने विश्लेषकहरूको भनाइ छ।





