नेपाल र चीनबीच द्विपक्षीय व्यापार प्रवर्द्धन, सम्पर्क सुदृढीकरण र सीमापार सहकार्य विस्तार गर्ने सहमति

ल्हासा । सीमा व्यापार तथा सहकार्यसम्बन्धी चीन–नेपाल समन्वय संयन्त्रको तेस्रो बैठक सन् जनवरी २० र २१ तारिखमा ल्हासामा सम्पन्न भएको छ ।
बैठकको सह–अध्यक्षता नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र शिजाङ जनसरकारका उपाध्यक्ष झाओ पेंगले गरेका थिए । बैठकमा द्विपक्षीय व्यापार प्रवद्र्धन, सम्पर्क सुदृढीकरण र सीमापार सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको जनाइएको छ ।
बैठकमा सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौता, सीमा पास सरलीकरण, टोखा–छहरे सुरुङ निर्माण तीव्रता, मल आयात कोटा, नेपालले अल्पविकसित मुलुकको हैसियतबाट स्नातक भएपछि पनि चीनको शून्य भन्सार नीतिलाई निरन्तरता दिने विषय तथा विपद्का समयमा सवारी साधनको वैकल्पिक मार्ग व्यवस्थापनबारे छलफल भएको थियो ।
सीमा सञ्चालन सुधारका लागि नेपाल–चीन सीमा यातायात सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, व्यापार समय र लागत घटाउने, हरित मार्गमार्फत नेपाली साइलेज निर्यात प्रवद्र्धन गर्ने तथा जोखिममा आधारित निरीक्षण लागू गर्ने सहमति भएको छ। साथै, जुट निर्यात सुधार, तथ्यांक आदान–प्रदान र सीमासुरक्षाका विषयमा पनि सहकार्य गर्ने समझदारी भएको छ ।
बैठकमा किमाथाङ्का सडक–पुल–अन्तरदेशीय भन्सार निकास केन्द्र प्रस्तावबारे आपसी समझदारी भएको छ । यसका साथै जिलोंग (रसुवा) र लिजी (मुस्ताङ) मा केन्द्र निर्माण, हिल्सा–सिमिकोट सडकको काम तीव्रता, लिजी नाकामा भन्सार प्रक्रिया सहज बनाउने तथा रसुवागढी–स्याफ्रुबेसी सडकमा चीनको सहयोगप्रति प्रशंसा व्यक्त गरिएको छ ।
लगानी र पर्यटनका क्षेत्रमा जिलोंग र रसुवा जिल्लाबीच भगिनी–सहर सम्बन्ध स्थापना, जिलोंग–रसुवा पार–सीमा पर्यटन क्षेत्र विकास र नेपाल–चीन कृषि उच्च प्रविधि पार्कको अर्को चरणबारे पनि छलफल भएको छ।
यसैगरी, अधिकृत आर्थिक अपरेटर प्रमाणीकरण, काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालन, वस्तुको गुणस्तर र सुरक्षामा सुधार, चिकित्सकीय योग्यताको आपसी मान्यता तथा परम्परागत चिकित्सामा सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको छ ।
बैठकले आगामी सहकार्यका लागि आधार तयार गरेको बताइएको छ। दुवै पक्षले चौथो बैठक आपसी सहमतिमा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेका छन् ।
Nepal Samaj










