जेलब्रेकबाट समृद्धिको बाटोसम्म: झकबहादुर मल्ल ‘सुदीप’ काे राजनीतिक यात्रा

सुर्खेत क्षेत्र नं २: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट झकबहादुर मल्ल ‘सुदीप’ लाई आफ्नो उम्मेदवार घोषणा गरेको छ। जनयुद्धकालीन चर्चित ‘सुर्खेत जेलब्रेक’ का नायक रहेका मल्लले अब पश्चिम सुर्खेतलाई समृद्धिको बाटोमा लैजाने आर्थिक रूपान्तरणको प्रतिबद्धता जाहेर गरेका छन्।
जेलब्रेकदेखि नेतृत्वसम्म: १४ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा प्रवेश गरेका मल्ल माओवादी जनयुद्धको अग्रिम पङ्क्तिमा रहे। ०५७ साल भदौमा गिरफ्तार भएर सुर्खेत जेलमा बन्दी बनाइएपछि उनले ०५८ साल माघ २ गते १५ जना साथीसहित सुरुङ खनेर जेलब्रेक गरेका थिए, जुन घटना जनयुद्धको इतिहासमा प्रसिद्ध छ। यसै जेलब्रेकपछि उनी पार्टीको उच्च जिम्मेवारीमा पुगे र जिल्ला पार्टी सेक्रेटरी, जनमुक्ति सेनाका कमान्डर लगायत महत्त्वपूर्ण पद सम्हाले।
युद्धकै क्रममा व्यक्तिगत क्षति: युद्धकालीन संघर्षमा उनले आफ्ना दाजु कुलबहादुर मल्ल ‘भिष्म’ र जीवनसाथी भुमिसरा वली ‘सिमा’ लाई गुमाउनु परेको छ। उनी स्वयं सहिद परिवारका सदस्य हुन्। उनको भनाइ छ, “सहिदहरुकै बलिदानी र हाम्रो कठोर संघर्षकै बलमा आज देशमा गणतन्त्र, समानुपातिक समावेशीता, वर्गीय विभेदको अन्त्य भयो।”
शान्तिपछिको भूमिका: शान्ति प्रक्रियापछि उनी माओवादी निकट युवा दस्ता वाइसीएलको केन्द्रीय सदस्य बने र ०६९ सालमा पार्टीको केन्द्रीय सदस्यमा पुगे। उनले पार्टी स्कूल विभागको सदस्य र कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञको रूपमा पनि काम गरे। उनले अहिलेसम्म कुनै पनि सरकारी लाभको पद नलिएको दाबी गरेका छन्।
विकास निर्माणमा योगदान: युद्धकालमा नै उनको नेतृत्वमा पश्चिम सुर्खेतको चौकुनेस्थित गुटुको विशाल बजार बसालिएको थियो भने साल्कोट–पलाइटेको ‘जनमुक्ति मार्ग’ सडक निर्माणको सुरुवात गरिएको थियो।
चुनावी प्रतिबद्धता: उम्मेदवार मल्लले प्रस्ताव गरेका प्रमुख प्रतिबद्धताहरु यसप्रकार छन्:
· प्रत्येक पालिकामा आइटी कलेज स्थापना गरेर रोजगारमुखी शिक्षा।
· प्रदेश अस्पताललाई अत्याधुनिक बनाउने र प्रत्येक पालिकामा विशेषज्ञसहितको स्वास्थ्य संस्था।
· घरघरमा बिजुली, खानेपानी, सडक र सिँचाइको सुविधा।
· स्थानीय पर्यटन, उद्यमशीलता र औद्योगीकरणमार्फत रोजगार सिर्जना।
· प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक उपमहानगरपालिका बनाउने।
· बराहताल, पञ्चपुरी र चौकुनेमा व्यवस्थित बस्ति विकास।
· विमानस्थल र रत्न राजमार्गको स्तरोन्नति गर्ने।
· गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको कार्यान्वयन।
झकबहादुर मल्ल भन्छन्, “जनयुद्धबाट अपेक्षित रूपान्तरण पूरा भएन। अब त्यसको नेतृत्व पनि हामीले नै गर्नुपर्ने छ। त्यही उद्देश्यअनुरुप हामी रुपान्तरित भएर जनतामा आएका छौँ।” उनी अब आफ्नो सम्पूर्ण राजनीतिक अनुभवलाई पश्चिम सुर्खेतको समग्र विकास र समृद्धिमा केन्द्रित गर्ने घोषणा गरेका छन्।





