परिवर्तनकाे आवाज नसुनेपछि हस्तक्षेप गर्नुपर्यो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र परिवर्तनको सन्देश लैजान नेतृत्वलाई पटक–पटक आग्रह गर्दा पनि नसुनेपछि आफू हस्तक्षेप गर्न बाध्य भएको बताएका छन्। युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो कदम कुनै सामान्य परिस्थितिमा चालिएको नभएको स्पष्ट पारे।
थापाले ‘जेन–जी आन्दोलन’ ले उठाएको परिवर्तनको आवाजलाई नेतृत्वले गम्भीर रूपमा लिनुपर्ने बताउँदै भने, “परिवर्तनको सन्देश लैजानुपर्छ भनेर कहिले हात जोडेर, कहिले औँला उठाएर प्रश्न गर्दा पनि नसुनेपछि हस्तक्षेप गर्नुपर्यो। यो सामान्य अवस्था होइन।”
आफू पटक–पटक काठमाडौँ–४ बाट निर्वाचन लडेर विजयी भइसकेको स्मरण गराउँदै थापाले यसपटक सचेत निर्णयसहित मधेश झरेको बताए। “मेरो उम्मेदवारी काठमाडौँ कि सर्लाही भन्ने टुंगो नलाग्दासम्म अरु पार्टीले पनि उम्मेदवार छनोट गर्न सकेनन्,” उनले भने, “अघिल्लो निर्वाचनमै मधेश जाने सोच थियो, तर त्यसबेला आँट गर्न सकिन।”
मधेशसँगको भावनात्मक सम्बन्धबिनाको राष्ट्रिय राजनीति अपूरो हुने धारणा राख्दै थापाले भने, “जबसम्म मुखले होइन, आत्माले मधेशसँग जोडिँदैन, तबसम्म सिंगो नेपालको प्रतिनिधि बन्न सकिँदैन।”
सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न लागेका थापाले त्यहाँ आफ्नै सांसद कार्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सर्लाहीमा रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष रूपमा काम गर्ने बताए। “म मन्त्री हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा बनाएका देश–विदेशका नेटवर्कहरू प्रयोग गरेर सर्लाहीका युवाका लागि अवसर सिर्जना गर्न लाग्छु,” उनले विश्वास दिलाए।
साबिक निर्वाचन क्षेत्र छाडेर मधेशबाट उम्मेदवारी दिने थापाको निर्णयलाई कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ। उनको यो कदमलाई परिवर्तन, समावेशिता र राष्ट्रिय एकताको सन्देशसँग जोडेर विश्लेषण गर्न थालिएको छ।





