सुनिता डंगोल अब कम्तीमा १५ महिना काठमाडौं महानगरको कार्यवाहक प्रमुख

काठमाडौं, माघ १० । पूर्वमेयर बालेन्द्र साहको राजीनामापछि काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उपमेयर सुनिता डंगोल कार्यवाहक हैसियतमा पुगेकी छन्। उपचुनाव नभएको अवस्थामा अब उनको यो भूमिका कम्तीमा १५ महिना लम्बिने देखिन्छ।
गत सोमबार मेयर पदबाट राजीनामा दिएर साह भोलिपल्टै जनकपुरमा भाषण दिन पुगेका थिए र हाल झापा क्षेत्र नम्बर ५ मा रास्वपाबाट उठेका बालेन कोशी प्रदेशको भ्रमणमा छन्। यही क्षेत्रमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यसअघि पटकपटक विजयी हुँदै आएका छन्।
बालेनसँगै पौने चार वर्ष उपमेयरको जिम्मेवारी निर्वाह गरेकी सुनिताले अब आफ्नो नयाँ भूमिका सुरुवात गर्ने तयारी पक्का गरेकी छन्। नगरपालिका स्रोतले बताएअनुसार, आगामी एक हप्ताभित्र उनी यसअघि बालेनले प्रयोग गर्दै आएको मेयरको कार्यकक्षमा सर्नेछिन्। साथै, साहले प्रयोग गरेको सवारी साधन र महानगरको आवास गृहमा पनि स्थानान्तरण हुने तयारी छ।
नगरपालिकाकै एक अधिकारीले गोपनीयता कायम राख्न अनुरोध गर्दै भने, “उनी बढी औपचारिकतामा जान खोजेको पाइयो। माघ ७ गतेदेखि २० गतेसम्मको ब्रिफिङका लागि तालिका नै बनाइएको छ।” उनले थपे, “उपमेयर भए पनि कार्यालयको कामकारबाहीबारे उहाँ परिचित नै हुनुहुन्थ्यो तर, बालेन शैलीमा आफूलाई एक तह माथिको रुपमा प्रस्तुत गर्न खोज्नुभएको देखियो।”
साहले आफ्नो राजनीतिक यात्रा अघि बढाउनुभएको छ भने सुनिताले अब लामो समयसम्म कार्यवाहक प्रमुखको रूपमा महानगरको नेतृत्व गर्नेछिन्। उपचुनावको प्रक्रिया लम्बिदा उनको यो कार्यकाल १५ महिनाभन्दा बढी पनि हुन सक्ने देखिन्छ।





