अमेरिकाको डब्लुएचओ बहिर्गमनमा विवाद, ‘दाबी असत्य’ भन्दै विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौँ/जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले अमेरिकाले डब्लुएचओबाट बाहिरिने निर्णयका लागि दिएको कारणहरू “असत्य” रहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल एक्स (X) मार्फत प्रतिक्रिया जनाउँदै उनले अमेरिकाको यो कदमले केवल अमेरिका मात्र होइन, सम्पूर्ण विश्वलाई नै “कम सुरक्षित” बनाउने चेतावनी दिएका छन्।
एक वर्षअघि डब्लुएचओबाट औपचारिक रूपमा बाहिरिने घोषणा गरेको अमेरिकाले हालसम्म पनि संगठनलाई तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको पुष्टि डब्लुएचओका एक प्रेस अधिकारीले गरेका छन्। उनका अनुसार सन २०२४–२०२५ को द्विवार्षिक अवधिका लागि निर्धारण गरिएको अनिवार्य योगदान रकम अझै अमेरिकाबाट प्राप्त भएको छैन।
समाचार संस्था सिन्ह्वालाई इमेलमार्फत जानकारी दिँदै डब्लुएचओका प्रेस अधिकारीले भने, “आजको मितिसम्म अमेरिकाले २०२४–२०२५ अवधिका लागि जारी गरिएको योगदान बिलको रकम तिरेको छैन।” अमेरिकी सार्वजनिक रेडियो एनपीआर (NPR) को हालैको प्रतिवेदनअनुसार अमेरिकाले तिर्न बाँकी रकम करिब २७८ मिलियन अमेरिकी डलर पुगेको छ।
डब्लुएचओका अनुसार अमेरिकाको औपचारिक बहिर्गमन सम्बन्धी विषय अब आउने कार्यकारी बोर्ड बैठकको एजेन्डामा समावेश गरिएको छ। संगठनको सचिवालयले आफ्ना शासकीय निकायबाट प्राप्त निर्देशन र सल्लाह अनुसार आवश्यक कदम चाल्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०२५ जनवरी २० मा कार्यकारी आदेश मार्फत अमेरिकालाई डब्लुएचओबाट फिर्ता गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए। त्यसको दुई दिनपछि संयुक्त राष्ट्रसंघलाई औपचारिक सूचना पठाइएको थियो। डब्लुएचओको विधान अनुसार सूचना दिएको एक वर्षपछि मात्र सदस्यता बहिर्गमन प्रभावकारी हुने व्यवस्था छ।
विश्लेषकहरूका अनुसार अमेरिका जस्तो ठूलो दाता र प्रभावशाली सदस्य राष्ट्रको बहिर्गमनले विश्व स्वास्थ्य प्रणाली, माहामारी प्रतिकार्य र अन्तर्राष्ट्रिय सहकार्यमा गहिरो असर पार्न सक्ने चिन्ता बढ्दै गएको छ।





