१६ चैत्र २०८२, सोमबार

६५४ मेगावाट विद्युत आयात अनुमतिको म्याद मंगलबार सकिँदै, भारतबाट नवीकरण नभए नेपालमा ऊर्जा सङ्कटको बादल

काठमाडौँ — हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर आन्तरिक उत्पादन कम हुँदा नेपालले बर्सेनि भारतबाट विद्युत आयात गर्दै आएको छ। तर, यसपालि ६५४ मेगावाट बिजुली आयातको अनुमति आउँदो मंगलबार (चैत १७ गते) सम्मका लागि मात्रै लागू हुनेछ। बुधबारदेखि पुनः आयात गर्न भारतले फेरि अनुमति नवीकरण गरिदिनुपर्नेछ। नवीकरण नभएको खण्डमा ऊर्जा सङ्कटको बादल मण्डलिन सक्ने देखिन्छ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा ६ सय ५४ मेगावाट बिजुली आयातका लागि अनुमति पाएको छ। प्राधिकरणले चौबीसै घण्टा (आरटीसी) ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी जम्मा ६ सय ५४ मेगावाट बिजुली आयात गर्दै आएको छ। हालसम्म भारतले नवीकरणको जानकारी नपठाएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताएका छन्। ‘हरेक पटक म्याद सकिन लाग्दा अन्तिममा मात्रै नवीकरण गरिदिने गरेको छ। यस वर्ष पनि त्यस्तै हुन्छ,’ ढकालले भने, तर भारतले आयात अनुमति नवीकरण गरिँदा आरटीसी मोडमा गर्छ कि सोलार आवरमा भन्ने विषयमा प्राधिकरण अनभिज्ञ छ।

प्राधिकरणले औसतमा ४ सय मेगावाट बिजुली आयात गर्दै आएको छ। गर्मी सुरु भएयता नेपालमा पनि विद्युतीय उपकरणको प्रयोग बढेकाले मुलुकमा बिजुलीको माग बढिरहेको छ। मंसिर २०८१ मा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले २ चैतसम्म दिनको २० घण्टा र चैत ३ देखि २०८२ असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो। तर, ३ चैत २०८१ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएकामा चैत १५ मा दैनिक १६ घण्टा बिजुली आयात गर्ने अनुमति पाएको थियो। त्यसपछि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात गरिएको थियो। अहिले अनुमति नवीकरणसँगै कसरी आयात गर्ने भन्ने प्रश्न रहेको छ।

गत वैशाखमा मागअनुसार भारतबाट बिजुली नआउँदा उद्योगमा आंशिक बिजुली कटौती गरिएको थियो। भारतमा आईपीएल जारी रहँदा माग बढेकाले आईएक्सको दर रेट पीईसीको दर रेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरणले नै जनाएको थियो। इन्डियन प्रिमियर लिग (आईपीएल), बढ्दो तापक्रमलगायत विभिन्न कारणले भारतमै माग उच्च हुँदा नेपालले चाहेजति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गरेको थियो। भारतमा यसपटक पनि शनिबारदेखि आईपीएल सुरु भइसकेको छ। अर्कोतिर नेपालमा पनि माग बढ्दो छ। गत फागुन ११ मा १८ सय ६२ मेगावाट रहेको माग चैत ११ मा १९ सय ८ मेगावाट पुगिसकेको छ।

प्राधिकरणले आईएक्सको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत बिजुली खरिद गर्दै आएको छ। यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ। प्राधिकरणले द्विपक्षीय सम्झौतामार्फत भारतको पावर ट्रेडिङ कम्पनी (पीटीसी इन्डिया) सँग १ सय ८० मेगावाट बिजुली प्रतियुनिट ६.९५ भारुमा खरिद गर्ने सम्झौता गरेको थियो, जुन जनवरी २०२६ देखि मे ३१ सम्मका लागि थियो। यो सम्झौता विवादित भए पनि प्राधिकरणले बिजुली आयात गर्दै आएको छ। सुक्खायाममा ऊर्जा सुरक्षा नै चुनौती रहेको भन्दै सरकारले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना अघि बढाउनुको विकल्प नरहेको जानकारहरू बताउँछन्। अब मंगलबपछि भारतले अनुमति नवीकरण गर्छ कि गर्दैन भन्ने कुराले नेपालको ऊर्जा आपूर्ति र औद्योगिक उत्पादनमा ठूलो प्रभाव पार्ने निश्चित देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button