प्रेमीकै घरनजिक जलेकाे अवस्थामा भेटिइन् २२ वर्षीया सिर्जना, जिउँदै आगो लगाइएको आरोप, प्रेमी फरार

बाँके / नेपालगञ्जस्थित कोरियनपुरमा आइतबार बिहान जलेको अवस्थामा एक युवती मृत भेटिएकी छन्। २२ वर्षीया सिर्जना बुढा (गीता) लाई उद्दार गरी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन, तर घटनाको प्रकृति शंकास्पद देखिएको छ।
मृतक सिर्जनाको तीन वर्षकी छोरी रहेको छ। पतिसँग सम्बन्धबिच्छेद गरेर बसेकी उनी पछिल्लो समय स्थानीय युवा गोलु धमालीसँग प्रेम सम्बन्धमा थिइन्। तर, उनीहरूबीचको सम्बन्ध राम्रो नरहेको वडाध्यक्ष किरण बज्राचार्यले जानकारी दिएका छन्। पहिले पनि झगडा परेर वडा कार्यालयमा मेलमिलाप गराइएको थियो। केही दिनअघि सिर्जनाले नै प्रहरीमा उजुरी दिएपछि दुवैलाई छलफलका लागि बोलाइएको थियो। मिलेर बस्ने सर्तमा प्रहरी चौकीबाट फर्किए पनि भोलिपल्टै सिर्जना जलेको अवस्थामा भेटिएकी हुन्।
स्थानीय बासिन्दाले उनकै प्रेमी धमालीले जिउँदै आगो लगाएर सडकमा फालेको आरोप लगाएका छन्। आरोपित धमालीकै घरनजिक घटना घटेको भए पनि उनीहरू त्यहाँ नबसी अन्तै डेरामा बस्थे। प्रहरीले धमालीका परिवारका केही सदस्यलाई पक्राउ गरिसकेको छ भने धमाली फरार रहेको बताएको छ। प्रहरीले आत्महत्या र कर्तव्य ज्यान दुवै कोणबाट अनुसन्धान अघि बढाएको छ।
मृतकका परिवारले भने दोषीलाई पक्राउ नगरेसम्म शव बुझ्न नमानेको अडान लिएका छन्। घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलाएको छ। प्रहरीले फरार प्रेमीको खोजी तीव्र पारेको छ।





